एजेन्सी । कोरोना भाइरसले विश्वमै महामारीको रुप धारण गरिरहेको समयमा एक प्रकारको आतङ्क नै मच्चिएको छ । विश्वभर यसको प्रभाव देखा परेको छ भने अर्थतन्त्र सङ्कटमा परेको छ ।
कयौँ मुलुकले संक्रमण फैलिन नदिनका लागि ‘लकडाउन’ घोषणा गरेका छन् । हजारौँ मानिस क्वारेन्टाइनमा छन् । कयौँको रोजगारी गुमेको छ ।
यस्तो अवस्था कहिलेसम्म रहन्छ भन्ने प्रष्ट भइसकेको छैन । कोरोनाका कारण विश्वकै कयौँ मुलुकमा नागरिकको सामाजिक स्वतन्त्रता लगभग खोसिएको छ । यी सब परिस्थितिका बीच पनि कोरोना संक्रमणका कारण विश्वलाई केही सकारात्मक प्रतिफल प्राप्त भइरहेको छ ।
प्रदूषणमा कमी
कोरोनाभाइरसका कारण कयौँ मुलुक ‘लकडाउन’ को अवस्थामा छन् । परिणामस्वरुप प्रदूषणको स्तरमा निकै कमी आएको छ । चीन र इटालीमा वायु प्रदूषणको गम्भीर कारक मानिएको नाइट्रोजन डाइअक्साइडमा निकै कमी आएको छ । औद्योगिक कारखाना बन्द भएका र सडकमा कारको संख्यामा कमी आएसँगै प्रदूषण घटेको हो ।
न्यूयोर्कमा कयौँ अनुसन्धानकर्ताले जनाएअनुसार गत वर्षको तुलनामा यो वर्ष कार्बन मोनोअक्साइडमा ५० प्रतिशत कमी आएको छ । मुख्यगरी कार्बन मोनोअक्साइड कारबाट निस्किन्छ । हवाई यात्रामा पनि कयौँ मुलुकमा रोक लगाइएको छ । ठूलो संख्यामा उडानहरु रद्द गरिएका छन् । लाखौँ मानिस घरबाटै काम गरिरहेका छन् । आगामी समयमा विश्वका सबैजसो मुलुकले यो स्थितिलाई अपनाउने अपेक्षा गरिएको छ । यसका साथै पृथ्वीलाई तातो बनाउने कार्बन डाइअक्साइड ग्यासमा उत्साहप्रद कमी आएको छ ।
पानीको गुणस्तर
कोरोना प्रभावित भेनिस सहरको पानीको गुणस्तरमा निकै सुधार आएको छ । स्थानीय बासिन्दाका अनुसार सहरको नहरमा बग्ने पानीको गुणस्तर सुध्रिएको हो ।
कोरोनाभाइरसका कारण उत्तरी इटालीको यो लोकप्रिय पर्यटकीय गन्तव्यको सडक अहिले पुरै खाली देखिन्छ । पर्यटक नआएका कारण ‘वाटर ट्राफिक’ मा कमी आएको छ । परिणामस्वरुप पानी सफा भएको हो । सफा पानीका कारण नहरमा रहेका माछासमेत देख्न थालिएको स्थानीयबासीको भनाइ छ ।
उदारता
कोरोनाभाइरसका कारण कयौँ मुलुक पूर्णरुपमा बन्द भएका छन् । केही मुलुक यस प्रकारको बन्दको तयारीमा छन् ।
घरमा कहिलेसम्म थुनिएर बस्नुपर्ने हो भन्ने टुङ्गो नभएका कारण मानिसहरु खाद्यान्न लगायत अत्यावश्यक वस्तु खरिद गरेर भण्डार गर्न थालेका छन् । जसका कारण बजारमा कृत्रिम अभाव सिर्जना हुन थालेको छ । यसबीचमा पनि सुखद् अनुभूति देख्न पाइएको छ । उदाहरणका लागि न्यूयोर्कलाई लिन सकिन्छ । समाचार एजेन्सीहरुका अनुसार न्यूयोर्कमा दुई जनाले ७२ घण्टाभित्रै एक हजार तीनसय स्वयंसेवक तयार पारेका छन्, जसले सहरमा वृद्धवृद्धा तथा सहयोगापेक्षीलाई घरेलु सामान तथा औषधि घरमै लगिदिन्छन् ।
सामाजिक सञ्जाल फेसबुकका अनुसार बेलायतमा हजारौँ मानिस एउटा समूहमा आवद्ध भएका छन्, जो कोरोनाभाइरस विरुद्ध जनचेतनाका लागि बनाइएको हो । यस्तो फेसबुक समूह क्यानाडामा पनि बनाइएको छ । यस्तो समूहले फेसबुकमा सकारात्मक सन्देश प्रवाह गर्दछ ।
अस्ट्रेलियाको सुपरमार्केटमा वृद्धवृद्धाका लागि खरिद समय निर्धारण गरिएको छ । उनीहरुका लागि छुट्याइएको समयमा अन्य ग्राहकलाई सेवा बन्द गरिएको हुन्छ । परिणामस्वरुप वृद्धवृद्धा तथा अशक्तले सहज रुपमा सुपरमार्केटमा पहुँच राख्न थालेका छन् ।
कयौँले कोरोना संक्रमण सामना गर्नका लागि चन्दा दिन थालेका छन् । केहीले आइसोलेसनमा रहेका वृद्धवृद्धाका लागि खाना लगायतका आवश्यक वस्तु सहयोग गरेका छन् भने कसैले उनीहरुको आत्मबल बढाउन थालेका छन् । केहीले आफ्नो व्यवसायलाई नै परिवर्तन गरेर कोरोना संक्रमणविरुद्ध आवश्यक सामान उत्पादन गर्न थालेका छन् ।
एकजुट हुँदै मानिस
कार्यालय तथा घरको भागदौडबीच मानिसहरु आफन्तबाट केही टाढिएजस्तो देखिन्थ्यो । कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि मानिसहरु आफ्नो घरमै सीमित हुन थालेका छन् । जसका कारण विश्वका लाखौँ मानिस आफ्नो परिवारको निकट रहन पाएका छन् ।
इटालीमा पूर्ण रुपमा सहर बन्द भएका छन् । यस्तो अवस्थामा त्यहाँका बासिन्दा आफ्नो घरको कौसीमा आएर एक अर्काको हौसला बढाउन थालेका छन् । एउटा घरको कौसीबाट अर्को घरको कौसीमा सम्पर्क बढ्न थालेको छ । टोलका सबैजसो घरका कौसीमा बसेर स्थानीयबासी गीत गाउने तथा प्रार्थना गर्दछन्, जसले एक अर्काको हौसला बढाइरहेको हुन्छ ।
धेरैजसो मानिस यतिबेला आफ्ना मित्रहरु, परिवार र आफन्तलाई फोन तथा भिडियो कलमार्फत कुरा गरिरहेका पाइन्छन् । यतिमात्र होइन, मानिसहरु मोबाइल एप्सका माध्यमले भर्चुअल पार्टी पनि गरिरहेका हुन्छन् । यो भाइरसको प्रकोपले स्वास्थ्यकर्मीहरु तथा तमाम अत्यावश्यक सेवामा काम गर्नेहरुको महत्वलाई पनि दर्शाएको छ । युरोपमा हजारौँ मानिस आफ्नो घरको कौसी तथा छतमा बसेर चिकित्सक तथा स्वास्थ्यकर्मीको हौसला बढाइरहेका छन् । लन्डनका धेरैजसो मेडिकल स्टुडेन्टहरु स्वास्थ्य सेवामा योगदान गर्नका लागि स्वयंसेवकका रुपमा खटिएका छन् ।
रचनात्मक क्षमतामा वृद्धि
कोरोना संक्रमणबाट जोगिनका लागि घरमा बस्न थालेपछि मानिसहरु आफ्नो रचनात्मक क्षमता देखाउन थालेका छन् । सामाजिक सञ्जालमा कयौँ मानिसले आफ्नो रुचीअनुसारको पुस्तक पढ्ने, पेन्टिङ गर्ने, कथा–कविता तथा निवन्धहरु लेख्ने गरेको अनुभव बाँडेका छन् ।
वासिङ्टनको एउटा सार्वजनिक पुस्तकालयले भर्चुअल बुक क्लव गठन गरेको छ । इटालीको चर्चित शेफले इन्स्टाग्राममा एउटा खास शृङ्खला सुरु गरेका छन्, जसलाई ‘किचेन क्वारेन्टाइन’ भनिएको छ । यसमा मानिसहरुले विभिन्न परिकार बनाउने कला सिक्दैछन् ।
अमेरिकाको टेनेसीमा एक आर्ट शिक्षकले स्कुल बन्द भएर घरमा बसेका बालबालिकाका लागि लाइभ स्ट्रिमिङ कक्षा सञ्चालन गरेका छन् । धेरैजसो सार्वजनिक स्थल बन्द भएका कारण मानिसहरु अनलाइनमा केन्द्रित भएका छन् । यसबाट कयौँले विभिन्न जानकारी हासिल गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै