काठमाडौँ । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिएसँगै नेपालमा पनि संक्रमण फैलिने त्रासले आवश्यक भन्दा बढी दैनिक उपभोग्य सामग्री संग्रह गरेर राख्न थालिएपछि बजारमा केही सामग्रीहरुको अभाव देखिन थालेको छ ।
सरकारले दैनिक उपभोग्य सामग्रीको अभाव नहोस भनेर आवश्यकता भन्दा बढी संग्रह राख्नेलाई कारवाही गर्ने भनेपनि त्यो क्रम भने राकिएको छैन् । अहिले सबैभन्दा बढी ग्याँससहितका सामग्रीहरु जोहो गर्न थालेपछि माग बढ्दा बजार अभाव सिर्जना भएको छ । त्यसमा पनि सबैभन्दा बढी ग्याँसको माग अहिले ह्वात्तै बढेको छ । यता नेपाल आयल निमगले आइतबारदेखि काठमाडौँका विभिन्न स्थानमा खाना पकाउने ग्यासका अतिरिक्त डिपोहरुबाट ग्यास वितरण गर्ने भएको छ ।
एलपी ग्यास उद्योगसँगको सहकार्यमा निगमले निम्न तथा मध्यम वर्गका उपभोक्तालाई राहत दिन भन्दै अतिरिक्त डिपो सञ्चालन गर्न लागेको हो । उच्च तथा उच्च मध्यम वर्गका उपभोक्ताले कोरोना भाइरसको जोखिम बढेको भन्दै ठूलो संख्यामा ग्यास सञ्चित गर्दा बजारमा अभाव सिर्जना भएको निगमले जनाएको छ ।
आइतबार बिहान १० देखि बेलुका पाँच बजेसम्म विभिन्न २२ कम्पनीका ग्यास सिलिन्डरहरु वितरण गरिने भएको हो । दोब्बर परिमाणमा ग्यासको आपूर्ति गरेको निगमले जनाएको छ । साबिकका डिपो, डिलर र बिक्री केन्द्र यथावत राखी अत्यावश्यक परेकाहरुलाई राहत दिनका लागि नयाँ बिक्री केन्द्रहरु तोकिएको निगमको भनाई छ । तोकिएका केन्द्रबाट उपभोक्ताले खाली सिलिन्डर लगेर तत्काल भरिएको नयाँ सिलिन्डर लैजान सक्ने जनाइएको छ ।
उपत्यकामा ग्यास वितरण गर्ने उद्योगका लागि भनेर ३८ बुलेट ग्यास शनिबार ल्याइएको निगमले जनाएको छ । ग्याँस अभाव हुन नदिन सरकारले भारतबाट थप ग्याँस भित्रयाउन पहल थालेको छ ।
प्रतिक्रिया दिनुहोस