बेग्लाबेग्लै दुर्घटनामा सर्लाहीमा तीन जनाको मृत्यु

शनिबार, ०८ चैत्र २०७६, २३ : ०३
बेग्लाबेग्लै दुर्घटनामा सर्लाहीमा तीन जनाको मृत्यु

सर्लाही । सर्लाहीमा आज भएको बेग्लाबेग्लै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईको सवारी दुर्घटनामा र एकजनालाई करेन्ट लागेर मृत्यु भएको हो ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१० स्थित ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ५६४५ नंको ट्रकले स्थानीय ५० वर्षीय ज्ञानप्रसाद खनालाई ठक्कर दिँदा मृत्यु प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका खनाललाई हरिवनको नमूना अस्पतालमा लगिँदै गर्दा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सर्लाही कविलासी नगरपालिका–३ हतसरी चौकस्थित ट्र्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । ना४त ४८७ नंको ट्र्याक्टरले बिआर३०एक्स २९९५ नंको मोटरसाइकललाई ठक्कर दिँदा बरहथवा नगरपालिका–७ बस्ने २० वर्षीय मोटरसाइकल चालक गोविन्द पासमानको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट मोटरसाइकल पछाडि सवार २२ वर्षीय नरेश पासमान घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यसैबीच करेन्ट लागेर सर्लाहीको बसबरिया गाउँपालिका–३ कोठियारमा एक वृद्ध महिलाको ज्यान गएको छ । पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा प्रकाश पटेलकी ६० वर्षीया श्रीमती राजकली देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)