कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

सफल खबर संवाददाता

विहीबार, १३ बैशाख २०८१, २० : ०८
कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको छ । जिल्ला अदालत रौतहटले आलमलाई बिहीबार जन्मकैद हुने फैसला सुनाएको हो ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएका हुन् । रौतहटको राजपुरमा २०६४ चैत २७ गते बम बिस्फोट भएछि घाइतेहरूलाई जिउँदै इँटाभट्टामा हालेको आरोप उनलाई लागेको थियो ।

२६ असोज २०७६ मा  पक्राउ परेका तत्कालीन अवस्थामा रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित आलमविरूद्ध प्रहरीले १४ जनाको हत्या गरेको अभियोगमा मुद्दा चलाएको थियो । घटनाको १२ वर्षपछि प्रहरीले आलमलाई रौतहटस्थित निवासबाटै पक्राउ गरेको थियो ।

घटना?

चुनावको तयारी भइरहेका बेला २०६४ चैत २७ गते रौतहटको फरदवम गाउँमा बम विस्फोट भएको थियो ।

विस्फोटमा दुई जनाले घटनास्थलमै ज्यान गुमाए । त्यहाँ १२ जना भन्दा धेरै घाइते भए। घाइतेमध्ये नेपाली र भारतीय नागरिकसमेत थिए । बम विस्फोटको त्यति ठूलो घटनाका कयौँ घाइते लगत्तै गायब भए ।

घटनापछि गायब भएकामध्ये केहीका परिवार प्रहरीमा पुगे । शेख रुक्सना खातुन र श्रीनारायण सिंहले संविधान सभाको चुनावमा उम्मेदवार बनेका आलममाथि हत्या आरोपसहित जाहेरी दिए । त्यसबेला बम विस्फोटबाट घाइते भएका ११ जनालाई आलमले इँटाभट्टा हालेर मारेको आरोप लागेको थियो ।

उक्त उजुरीको लामो समयपछि सक्रिय भएको प्रहरीले संविधानसभा चुनावमा बुथ कब्जा गर्न भारतबाट मान्छे ल्याएर बम बनाउन लगाएको पत्ता लगायो ।

बम बनाउँदा बनाउँदै विस्फोट हुँदा दुई जना घटनास्थलमै मारिए । जसमा ११ जना गम्भीर घाइते भएको खुल्यो । उक्त काण्ड लुकाउन आलमले उनीहरूलाई जिउँदै इँटा भट्टामा हालेर मारेको गाउँलेले बताउँदै आएका थिए। त्यसकै आधारमा अनुसन्धान थालेको प्रहरीले आलमसहितविरुद्ध ज्यान मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस