कोरोना त्रास : जनकपुरको जानकी मन्दिर सुनसान, कोरोना नभित्रियोस भन्दै पुजापाठ

सफल खबर संवाददाता

शनिबार, ०८ चैत्र २०७६, १७ : ३५
कोरोना त्रास : जनकपुरको जानकी मन्दिर सुनसान, कोरोना नभित्रियोस भन्दै पुजापाठ

जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) को त्रास विश्वव्यापी बढेसंगै जनकपुरधाममा रहेको जानकी मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनहरुको संख्यामा कमि आएको छ ।

कोरोनाको असर नपर्दा सम्म मन्दिर दर्शन गर्न दिनहुं हजारौंको संख्यामा भारतिय पर्यटक आउजाउ हुने गर्दथ्यो । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार भक्तजनको संख्यामा व्यापक कमि आएपछि मन्दिर सुनसान भएको छ। बिहान र बेलुका सामान्य रुपमा दर्शनार्थी आउन गरेको उनको भनाई छ । 

सरकारले केही दिनअघि सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला नहुन भनेपछि जनकपुरधामका अधिकांश धार्मिकस्थल स्थान सुनसान छन्।पछिल्लो समय जनकपुर आउने भारतीय धार्मिक पर्यटकको संख्यासमेत उल्लेख्य मात्रामा घटेको छ।

यसैगरी कोरोना भाइरसको संक्रमणलाई रोक्न भन्दै जनकपुरधाममा पूजापाठसमेत शुरु भएको छ ।  जनकपुरधामस्थित राम मन्दिरमा पण्डितहरुको समूहले कोरोनाको प्रभावबाट सर्वसाधारणलाई बचाउन महामृत्युञ्जय जप शुरु गरेका छन्।

बिहीबारबाट शुरु भएको जप पाँच दिनसम्म चल्ने राममन्दिरका महन्थ राम गिरीले बताए। कोराना कहरका कारण जनकपुरका विभिन्न चोकहरु सुनसान जस्तै बनेको छ ।