सभामुख अग्नि सापकोटालाई अप्ठयारो पार्न बालुवाटार सक्रिय

शुक्रबार, ०७ चैत्र २०७६, ०९ : २२
सभामुख अग्नि सापकोटालाई अप्ठयारो पार्न बालुवाटार सक्रिय

काठमाडौं । प्रधानमन्त्री ओलीले नचाहदा नचाहदै पनि सभामुखमा निर्विरोध निर्वाचित भएका अग्नि सापकोटालाई अप्ठयारो पार्न बालुवाटार नै सक्रिय रहेको खुलासा भएको छ । सभामुखको तजविजी अधिकार प्रयोगमा समेत पूर्व सभामुख सुवास नेम्वाङलाई परिचालन गरेर बालुवाटारले अग्नि सापकोटको स्वविवेकी अधिकार प्रयोगमा समेत अप्ठयारो पार्न खोजेको छ । 

त्यसका लागि अहिले मोहोरा बनेका छन्, – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना । संसदभित्र पत्रकारहरुका बीचमा वडाअध्यक्षसम्मको ल्याकत राख्ने व्यक्ति राष्ट्रिय सभा अध्यक्ष भएको भनी बेला बेला चर्चामा आउने तिमल्सिनालाई अहिले नेम्वाङ र बालुवाटारका प्रधानमन्त्रीका सचिवालयका सदस्यहरुले सभामुख विरुद्ध प्रयोग गर्न थालेका छन् । त्यसैका कारण उनले अहिले सभामुखका काममा उल्झन हाल्ने अनेकन प्रयास गरिरहेका छन् ।

त्यसैको पछिल्लो उदाहरण हो, संसदको कार्यवाहक महासचिवमा गोपालनाथ योगी नियुक्त भएयताको सभामुख र राष्ट्रिय सभा अध्यक्षबीचको द्धन्द्ध । सभामुखले कार्यवाहक महासचिव योगीलाई जिम्मा दिने बेलामा तिमल्सिनासँग परामर्श गरेका थिए ।  सभामुखले राष्ट्रिय सभा अध्यक्षसँगको परामर्शका आधारमा कार्यवाहक तोक्न सक्ने कानुनी ब्यवस्थामै उल्लेख छ ।  तर अहिले यो विषयमा समेत किचलो निकालिएको छ ।

पहिले आफैले सहमतिमा टाउको हल्लाउने र पछि फेरि बालुवाटार र नेम्वाङवाट त्यसो गर्नु हुदैन, सभामुखलाई सहजै काम गर्न दिनु हुदैन भन्दै आएको निर्देशनपछि विरोधका स्वर निकाल्न थाल्नुलाई भने संसदमा तिमल्सिनाको हैसियत फेरि वडाअध्यक्षकै रुपमा मात्र फर्किएको चर्चा हुन थालेको छ । सभामुख सापकोटालाई भर्खर सभामुखमा निर्वाचत भएर आएको कारण जुनियर जस्तो र आफु पहिले देखि राष्ट्रिय सभा अध्यक्षका रुपमा रहेकोले सिनियर जसो गरी तिमिल्सना संसदमा प्रस्तुत हुन थालेपछि संसदकै कर्मचारी पनि अचम्मित बन्न थालेका छन् ।

संसदका एक कर्मचारी भन्छन्,– ‘राष्टिय सभा अध्यक्षले आफनो पदीय मर्यादा, आफनो अधिकार क्षेत्र सबै भुले जस्तो लाग्छ, उहाँलाई कतैबाट कसैले अह्राई सिकाई गरेको काम पो गर्न थाल्नु भएको छ ।’ योगीलाई सभामुखले यस अगाडी पनि कार्यवाहक महासचिवको जिम्मेवारी सम्हालिसकेका कारण कार्यवाहक महासचिवको जिम्मेवारी तोकेका हुन् । त्यसमाथी पनि उनले तिमल्सिनासंग यस विषयमा परामर्श गरेका थिए ।

सभामुख अग्नि सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपाने भन्छन्,– ‘राष्ट्रिय सभा अध्यक्षसँगको परामर्शकै आधारमा कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको हो ।’ बालुवाटारका प्रधानमन्त्रीका एक सल्लाहकार अचेल संसदका सभामखु र अध्यक्षका बीचको द्धन्द्धका विषय आए भन्ने गछर्न,–‘सभामुख र संसदको महासचिवमा पनि पूर्व माओवादीको हालीमुहाली गर्न कँहा दिइन्छ र ? त्यसो हुन दिइदैन । तिमल्सिनालाई त्यसो नगर्न र सभामुखका विरोधमा उत्रिन भनिएको छ, उहाँले त्यसै अनुसार गर्नुभएको पनि छ ।’

तिमल्सिनाले बालुवाटारको सन्देश पछि नै सभामुखले उनी सहमतिको परामर्शमा जिम्मेवारी तोकेका कार्यवाहक महासचिवको निर्णयको विरोध जनाए । त्यक्ति मात्र होइन, सभामुखले संसदका समितिका सभापतिसँग संसदीय कामको प्रभावकारिताका विषयमा आयोजना गर्न खोजेको बैठक समेत बहिष्कार गराउन पूर्व एमालेका तर्फवाट समिति सभापति भएकाहरुलाई उकासे । जसकाकारण समिति सभापतिहरुको बैठक नै समेत बस्न सकेन् । सभामुख र अध्यक्ष बीचको द्धन्द्धका केही श्रृंखलावद्ध घटना पनि छन् । जसमा सभामुख सापकोटालाई अप्ठयारो पार्न अहिले गणेश तिमल्सिनालाई मोहोरा बालुवाटारले बनाउन थालेको छ । यसको कि डिजाइनर भने नेम्वाङ छन् ।

प्रधानमन्त्री केपी ओलीले संसदीय गतिविधिको सम्पूर्ण जिम्मा नेम्वाङलाई दिएका कारण उनले अहिले आफु सभामुख दोहोरिन नपाएको झोक सापकोटामाथी काममा असहजता निम्ताईदिएर गर्न थालेका छन् । स्वभाविक रुपमा अन्तर्रािष्ट्रय पार्लियामेन्ट युनियन (आईपीयू) को आगामी सम्मेलनमा सभामुख सापकोटा जानु पर्ने हो  । त्यसमा राष्ट्रिय सभा अध्यक्षले विमति जनाउनु पर्ने कुनै कारण थिएन ।

तर तिमल्सिनाले सभामुखलाई होच्याउने शैलीमा सभामुख भर्खर निर्वाचित भएर आएको र आफु संसदीय कामको कार्यसञ्चालनमा पूरानो भईसकेकोले आईपीयूमा आफू जाने भन्दै प्रस्ताव लिएर गएका थिए । कोरोना भाइरस संक्रमणका कारण आईपीयू सम्मेलन हुने–नहुने अनिश्चित बनेपनि यो सम्मेलनमा तिमल्सिनालाई जसरी पनि जान र अग्निलाई रोक्न बालुवाटारका भित्रियाहरुले निर्देशन गरेपछि तिमल्सिना त्यहीबाट सापकोटासँग टसल गर्ने मुडमा बसेका थिए ।

त्यसपछि नै उनी सानातिना विषयमा पनि सभामुखसँग टसल गर्न थालेका छन् । अबको संसदको महासचिवमा आफु अनुकुलका पात्र खोजी गर्नका लागि बालुवाटारले अहिले अग्निसँग राष्ट्रिय सभा अध्यक्षलाई जुधाउने रणनीति बनाएको सहज बुझन सकिने कतिपय सांसदहरु नै बताउँछन् ।

प्रतिक्रिया दिनुहोस