यस्तो छ कोरोनाविरुद्ध सेनाको रणनीति

मंगलबार, ०४ चैत्र २०७६, ०७ : ३९
यस्तो छ कोरोनाविरुद्ध सेनाको रणनीति

काठमाडौँँ । नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि भद्रकालीस्थित सैनिक मुख्यालय प्रवेशमा ‘एकद्वार’ रणनीति अपनाएको छ । सैनिक मुख्यालयमा कार्यरत उच्च सैनिक अधिकृतदेखि जवानसम्मले कार्यालय प्रवेश गर्नुअघि र बाहिर निस्कँदा ‘थर्मप्लान्ट’बाट स्वास्थ्य परीक्षण गर्नुपर्नेछ ।

उच्च ज्वरो आएमा वा शङ्का लागेका सैनिक कर्मचारीलाई तत्काल ‘आइसोलेसन’का लागि सैनिक मुख्यालयको दक्षिणतर्फको गेटमा निर्माण गरिएका अस्थायी टेन्टमा राख्ने व्यवस्था गरिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कार्यालय प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण र हातमा सेनिटाइजर लगाएर प्रवेश गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मापदण्ड अनुरूप तीन मिटरको दूरीमा अस्थायी टेन्ट निर्माण गरिनुका साथै स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको जनाइएको छ । त्यस्तै सैनिक कर्मचारीको स्वास्थ्य सुरक्षा, सतर्कता र सचेतनाका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनीका प्रमुख चिकित्सकको नेतृत्वमा ‘कोर ग्रुप’ गठन गरिएको प्रवक्ता पाण्डेले बताए ।

प्रत्येक सैनिक ब्यारेकमा स्वास्थ्यकर्मी सहितको दुई–दुई बेड ‘आइसोलेसन’ सेवा विस्तार गरिएको छ । सार्वजनिक स्थान तथा बाटोमा गरिने सैनिक दौड, पिटी र परेड स्थगित गरिएको छ । सेनाको आन्तरिक अभ्यासका लागि छाउनी, धरान, पोखरा र नेपालगञ्जमा सञ्चालित सैनिक अस्पतालमा आइसोलेसन बेडका अतिरिक्त सेवाग्राहीलाई अस्पताल प्रवेश गर्नुअघि थर्मप्लान्टबाट ज्वरो नाप्ने व्यवस्था गरिएको छ ।

मुलुकभर रहेका सैनिक कार्यालय तथा युनिटमा कार्यरत सैनिक कर्मचारीलाई व्यक्तिगत तथा कार्यालय सरसफाइ, स्वास्थ्य सतर्कता, कोरोनाको सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य तथा सरसफाइ सतर्कतासम्बन्धी जानकारी दिएको सेनाले जनाएको छ । गोरखापत्रमा खबर छ ।