गाउँपालिकामा बम विस्फोट

रासस

सोमबार, ०३ चैत्र २०७६, १८ : १८
गाउँपालिकामा बम विस्फोट

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गेट नजिकै बम विस्फोट गराइएको छ । अज्ञात समूहद्वारा कार्यालय परिसर क्षेत्र रहेको कार्यालयको ढोका नजिकै बम विस्फोट गराएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र प्रहरी कार्यालयसँगै रहेको परिसरमै बम विस्फोट गराइएको हो । 
    
    सिसिटिभीको निगरानी भए पनि कार्यालय परिसर नजिकै बम विस्फोट हुन सुरक्षा चुनौती बढेको छ । प्रहरी चौकी कार्यालय र नियमित प्रहरी सुरक्षा खटिएकै क्षेत्रमा बम विस्फोट गराएपछि जनप्रतिनिधि र स्थानीय त्रसित बनेका छन् ।
    
    अज्ञात समूहले आज बिहाज कार्यालयको ढोकाभन्दा करिब ५० मिटरको दूरीमा बम विस्फोट भएको प्रहरी प्रमुख भट्टराइले राससलाई बताउनुभयो । गाउँपालिकाको ढोकाभन्दा ५० मिटरको दूरीमा बम विस्फोट गराइएको हो ।
बम विस्फोट गराउने समूहले जिम्मा नलिएकाले अज्ञात समूह भनिए पनि विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिल्लामा चन्दा आतङ्क मच्याइरहेको स्रोतका दाबी छ । 
    
    जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराइले गाउँपालिको ढोकामा बम विस्फोट गराएको बताउनुभयो । तीन साताअघि मात्र जिल्ला प्रहरी कार्यालय नजिकै पीसविनको कार्यालयको ढोकामा बम राखिएको थियो । जिल्लामा बम राख्ने, चन्दा असुली गर्ने, फोनबाट धम्की दिने जस्ता गतिविधि बढेपछि सुरक्षा चुनौती बढेको छ । प्रहरीले शङ्कास्पद व्यक्तिको मोबाइल टाइयापिङ गरिरहेको भए पनि गतिविधि रोक्न नसकेको अवस्था छ । 
    
    गाउँपालिका केन्द्र रहेको जुड्डीमा फोन सम्पर्क नभएकाले विस्तृत विवरण आइसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बम विस्फोटबाट गाउँपालिका र अन्य मानवीय क्षति नभए पनि स्थानीय त्रसित बनेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस