चितवन । कोरोना भाइरसको संक्रमणबाट नगरवासीलाई जोगाउन भरतपुर महानगरपालिकाले सरकारी तथा निजी अस्पतालहरुलाई ज्वरोका बिरामीहरुका लागि छुट्टै फिभर क्लिनिकको व्यवस्थापन गर्न अनुरोध गरेको छ ।
महानगरले आज सोमबार कोरोना भाइरस रोकथाम तथा पूर्वतयारीसम्बन्धी सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई एटीएम मेशिनबाट संक्रमण फैलिन सक्ने भएकाले स्यानिटाइजरको व्यवस्था गर्न आग्रह गरेको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले हस्ताक्षर गर्नुभएको सूचनामा सिनेमा घरहरुसमेत बन्द गर्न अनुरोध गरिएको छ । यस्तै विद्युतीय हाजिरी भएका कार्यालयहरुमा स्यानिटाइजरको व्यवस्था गर्नसमेत माग गरिएको छ ।
यसैगरी महानगरको सूचनामा साबुनपानीले हात धुन, हाटबजार तथा मासु पसलहरुलाई व्यवस्थित गर्न, होटलहरुमा आगन्तुकहरुको लगबुक राखी सम्भावित स्थानबाट आएका व्यक्तिहरुलाई पहिचान गरी अस्पताल पठाउन र कोरोना सम्बन्धी आवश्यक जानकारीको लागि पैसा नलाग्ने फोन नं १११५ सम्पर्क राख्न अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस