त्रिविवि टिचिङ अस्पतालको समन्वयमा ‘मुग्लिन हाईवे अस्पताल’ संचालन हुने

सोमबार, ०३ चैत्र २०७६, ०८ : ०७
त्रिविवि टिचिङ अस्पतालको समन्वयमा ‘मुग्लिन हाईवे अस्पताल’ संचालन हुने

मुग्लिन । स्वास्थ्य सेवालाई समुदाय स्तरमा बिस्तारित गर्ने उद्येश्य अनुरुप त्रिविवि, टिचिङ हस्पिटल काठमाण्डौको बिस्तारित सेवाको रुपमा मुग्लिन हाईवे हस्पिटललाई बिकास गरिने भएको छ ।

यसै बिषयमा आज मुग्लिङ बजारमा त्रिबिबिका उपकुलपति प्रा. डा. तीर्थराज खनियाको प्रमुख आतिथ्यता र चिकित्साशास्त्र अध्यन संस्थानका डिन प्रा. डा. जगदिश प्रसाद अग्रवालको बिशिष्ट आतिथ्यतामा सरोकारवालाहरुका बीच छलफल भएको छ ।

मुग्लिङ हाईवे हस्पिटल निर्माण अभियानका अभियन्ता राम बहादुर लामाको सभापतित्वमा सम्पन्न छलफल कार्यक्रममा प्रमुख अतिथि त्रिविविका उपकुलपति प्रा. डा. तीर्थराज खनियाले एशिया महादेशमै प्रतिष्ठित टिचिङ हस्पिटलको रुपमा ख्याति कमाएका टियू टिचिङ हस्पिटलको बिशेषज्ञता र बिशेषतालाई जनताको दैलो सम्म बिस्तार गरी स्वास्थ्य सेवाको पँहुच र प्रभाब नपुगेका गाउँ तहसम्म फैलाउन आफुहरु लागिपरेको बताउनुभयो ।

उहाँले यसलाई एउटा अबशर र प्रयोगको निम्ति त्रिविविले टिचिङ हस्पिटलको एक्सटेन्सन हस्पिटलको रुपमा मुग्लिङ हाईवे हस्पिटलसँग संस्थागत साँझेदारी गरी सेवा प्रारम्भ गरिन लागेको बताउनुभयो । कार्यक्रममा  चिकित्साशास्त्र अध्यन संस्थानको डिन प्रा. डा. जगदिश प्रसाद अग्रवालले जनता हस्पिटलमा होईन हस्पिटल जनता सम्म धाउनु पर्ने मान्यता अनुरुप आफूले यस परिकल्पनालाई सार्थक तुल्याउन प्रक्रिया अघि बढाएको बताउनु भयो।  

शिक्षाशास्त्र संकायका डिन प्रा. डा. कृष्ण प्रसाद गौतमले यो योजना ईच्छाकामना गाउँपालिकाको जनताको सुबिधाको लागि मात्र नभई नेपालकै सबैभन्दा ब्यस्त सडक पृथ्वी राजमार्ग भई आवत जावत गर्ने सम्पूृ्ण नेपाली जनताको सेवा र सुबिधाको लागि हो भन्ने धारणा राख्नुभयो । ईच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले यस अभियानलाई पूरा गराउन गाउँपालिकाले सम्पूृ्र्णरुपमा सहयोग गर्ने र हस्पिटल बन्ने कुराले खुसी लागेको बताउनु भयो ।

सो सरोकारवालाहरुको भेलामा  ईच्छाकामना गाउँपालिकाका उपाध्यक्ष  कीर्ति कुमार श्रेष्ठ, वडा नं ५ का वडा अध्यक्ष मोदराज सिलवाल, गाउँपालिकाका प्रबक्ता साबित्री गुरुङ, नेकपाका प्रतिनिधि  समाजसेवाी जयलाल श्रेष्ठ, नेपाली कांग्रेस ईच्छाकामनाका संयोजक बिष्णु कुँवर लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम पश्चात बरिष्ठ नशा रोग बिशेषज्ञ समेत रहेका चिकित्साशास्त्र अध्यन संस्थानका डिन प्रा. डा. जगदिश प्रसाद अग्रवालले १७ जना स्थानीय बिरामीको स्वास्थ्य परीक्षण समेत गरी मुग्लिङ हाईवे हेल्थ क्लिनिकको सेवा आरम्भ गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस