विदेशबाट नेपाल आउँदा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने

सफल खबर संवाददाता

शुक्रबार, ३० फागुन २०७६, १४ : १८
विदेशबाट नेपाल आउँदा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने

काठमाडौँ । विदेशबाट नेपाल आउँदा अबदेखि १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। नेपालको अध्यागमन विभागले प्रेस विज्ञप्ति जारी गर्दै व्यापारका लागि वा उच्च शिक्षाका लागि वा अन्य कुनै प्रायोजनका लागि विदेश गएकाहरु नेपाल फर्किँदा कम्तीमा १४ दिनसम्म क्वारेन्टाइन बस्नुपर्ने उल्लेख गरेको छ।

त्यस्तै पहिलोपटक नेपाल भ्रमणमा आउने कूटनीतिज्ञहरुले पनि कम्तीमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने अध्यागमन विभागले जनाएको छ। यो निर्णय १४ मार्चदेखि लागू हुने उल्लेख छ।

विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट बच्नका लागि विभागले १० बुँदे विज्ञप्ति जारी गर्दै सतर्कता अपनाएको हो। बिहीबार राति बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले अनअराइभल भिसामा रोक लगाएको थियो।

त्यस्तै विदेशमा भएका नेपालीहरुलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र आफू पनि सतर्क रहन सूचित गरिएको छ। त्यसबाहेक २०२० का लागि जति पनि हिमाली आरोहणका अनुमति दिइएको थियो, सबैलाई अहिलेको लागि रद्द गरिएको पनि सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस