नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अझ बढी संवेदनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक ज्ञवाली

आइतबार, २५ फागुन २०७६, २१ : २३
नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अझ बढी संवेदनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक ज्ञवाली

काठमाडौँ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सङ्गठनले लिएको लक्ष्य र उद्देश्यअनुरुप सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउनुपर्ने बताउनुभएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिँदै महानिरीक्षक ज्ञवालीले नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अझ बढी संवेदनशील एवं सक्रिय हुनुपर्ने बताउनुभयो ।

प्रहरी कर्मचारीको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार  क्रियाकलाप, व्यावसायिक दक्षता तथा सीपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने उहाँको भनाइ छ । महानिरीक्षक ज्ञवालीले उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको चुनौतीको समाधानका लागि सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले हुण्डी कारोवारी, कालोबजारी, चोरी निकासीलगायत अन्य आपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने बताउनुभयो ।
 
प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीले व्यावसायिक निष्ठा तथा लगनशीलताको प्रदर्शनी गर्नुपर्ने उहाँको भनाइ थियो । महानिरीक्षक ज्ञवालीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिक र प्रहरीको सम्बन्धलाई सुधार गर्दै समाजमा हुने अपराध नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षाका लागि प्रहरी गम्भीर भएर लागेको बताउनुभयो । शान्ति सुरक्षालाई थप मजबुत बनाउन समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो । (रासस)

प्रतिक्रिया दिनुहोस