छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

आइतबार, २५ फागुन २०७६, १७ : ४७
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

काठमाडौं । काठमाडौं, कञ्चनपुर, कैलाली, कपिलवस्तु, बैतडी र रौतहटका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।  

काठमाडौंको कुलेश्वरस्थित सडकमा बा.२४ प ३४०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बा.१६ च ६९४९ नम्बरको कारमा समेत ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक काभ्रे नाला घर भई हाल काठमाडौं कुलेश्वर बस्ने ६५ वर्षीय ओमकाजी श्रेष्ठको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको छ । दुबै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका-३ पशुपति टोलस्थित सडकमा सुदूर पश्चिम ०१-००१ ह ३८१ नम्बरको अटो अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही ठाउँ बस्ने ३५ वर्षीय अर्जुन धामीको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । 

यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका-८ स्थित सडकमा म.२ प ५२२ नम्बर र से.४ प ६९६६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका म.२ प ५२२ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने दिन दयाल रानाको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनालाई थप उपचारको लागि कोहलपुरतर्फ लगिएको छ । 

कैलालीको गौरीगंगा नगरपालिका-३ कुचैनीस्थित सडकमा पनि  से.७ प ९११८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय लोक बहादुर खत्रीको सेती प्रादेशिक अस्पातल धनगढीमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको पदमा अस्पताल प्रा.लि.अत्तरीयामा उपचार भइरहेको छ । 

यता कपिलवस्तुको  कपिलवस्तु नगरपालिका-५ बभनी चोकस्थित सडकमा युपि ५५ जेड ६०८७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया तर्जुन निशाको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बैतडीको पाटन नगरपालिका-६ स्थित सडकमा धनगडीबाट दार्चुलातर्फ जाँदै गरेको अन-टेष्ट लेखिएको जिप सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा जिपका चालक दार्चुला दुहु गाउँपालिका-२ बस्ने ३६ वर्षीय धन सिंह बडालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र पाटन हुँदै थप उपचारको लागि धनगढीतर्फ लगिएको छ । 

यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित सडकमा रोकी राखेको ना.६ ख ७०१३ नम्बरको ट्रकमा ना.६ ख ३८२२ नम्बरको ट्रक आइतबार बिहान ठक्कर खाँदा ना.६ ख ३८२२ नम्बरको ट्रकका सहचालक धनुषा गणेशमान नाथ नगरपालिका-४ बस्ने २० वर्षीय बिनोद कुमार यादवको घटनास्थलमै मृत्यु भएको छ ।  ना.६ ख ७०१३ नम्बरको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।