विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ

शनिबार, २४ फागुन २०७६, १८ : १०
विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ

ब्लेडले चिरा पारिएको विद्यार्थीको हात

काठमाडौं । परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाउने काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ । वानेश्वर प्रहरी वृत्तको टोलीले शनिबार दिउँसो कर्माचार्यलाई नियन्त्रणमा लिएको हो ।

उनी सामाजिक शिक्षा पढाउँथिन् । परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६ का विद्यार्थीलाई ब्लेडले आफैँ हात चिर्न लगाएर यातना दिएको पाइएपछि कर्माचार्यलाई पक्राउ गरिएको डिएसपी दुर्गा रेग्मीले जानकारी दिए । उनलाई अहिले कोटेश्वर प्रभागको हिरासतमा राखिएको छ ।

प्रहरीकाअनुसार अहिलेसम्म उजुरी परेको छैन । तर आज शनिबार विद्यालयका प्रिन्सिपलकाम साथै केही अभिभावकलाई बोलाएर छलफल गरिएको छ । छलफलका क्रममा शिक्षिका कर्माचार्यले आफ्नो गल्ती स्वीकार गरेकी छिन् ।

उक्त एकेडेमीले ती शिक्षिकालाई बर्खास्त गरिसकेको छ । एकेडेमीका प्रिन्सिपल राजनकुमार श्रेष्ठले ती शिक्षिकालाई बर्खास्त गरिएको जानकारी दिए । ती शिक्षिका दस वर्षदेखि उक्त विद्यालयमा अध्यापनरत थिइन् ।