नेपाली चिकित्सकले देखाए क्षमता : स्वास्थ्य क्षेत्रकै सान उँचो

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०७६, २१ : २०
नेपाली चिकित्सकले देखाए क्षमता : स्वास्थ्य क्षेत्रकै सान उँचो

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण स्वदेशमै सफलतापूर्वक गरेर नेपाली चिकित्सकले स्वास्थ्य क्षेत्रको सान उचो बनाएका छन् । 
हरेक राजनीतिक नेतृत्व हल्का टाउको दुख्दा पनि स्वदेशी चिकित्सकलाई विश्वास नगरी विदेश जाने चलन थियो । तर यसपाला नेपाली चिकित्सकले स्वदेशमै प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण गरेर विश्वास जितेका छन् । यतिबेला मिर्गौल प्रत्यारोपण पश्चात प्रधानमन्त्री ओली आराम गरिरहनु भएको छ । उहाँको र मिर्गौला दान दिने भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था समान्य रहेको शिक्षण अस्पतालले जनाएको छ । तर स्थिर रहेको जनाइएको छ ।

स्वदेशमा त्यो पनि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नु अघिसम्म पनि चिकित्सकहरुमा एक प्रकारको के होला के होला भन्ने मनस्थिति थियो । बिहान नौ बजेदेखि अपरेसन थिएटर पसेका चिकित्सकले अविराम ६ घण्टा अप्रेसनमा विताए । र सफल बनाए प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण । उमेर घर्किसकेको अनि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउदै गरेका प्रधानमन्त्रीमा प्रत्यारोपणको प्रतिक्रिया कस्तो रहला ? अपरेसन थिएटर छिरेका चिकित्सकले यो छलफल पहिल्यै पनि गरेका थिए । पछि आउन सक्ने चुनौतीका बारेमा पहिल्यै मानसिक र भौतिक तयारी समेत गरेका थिए । प्रधानमन्त्री ओलीको मिर्गौलाको प्रत्यारोपण सफल भए पछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले अप्रेसन सफल भएपछि जारी गरेको विज्ञप्तीले पनि चिकित्सकको मनोवल बढेको उजागर गर्छ ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएको छ । हाल उहाँको स्वास्थ्य स्थिर अवस्थामा रहेको छ ।उहाँको सबै मुख्य सूचकहरु राम्रो अवस्थामा रहेको छ ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘प्रत्यारोपित मिर्गाैलाले काम गर्न सुरु गरिसकेको छ ।’

प्रधानमन्त्रीको प्रत्यारोपणको शल्य चिकित्सा टोलीमा शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा.उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली प्रा.डा.अनन्तकुमार लगायतका टोलीको सहभागितामा मिर्गौला प्रत्यारोपण सफल भएको हो । त्यो टोलीमा नेपालका अन्य चिकित्सक प्रा.डा.दिव्या सिंह शाह, डा.महेश सिक्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली पनि साथ थिए । हरेकले पाएको जिम्मेवारी पुरा गर्दै एकअर्कोलाई सघाउदै प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा निरन्तर खटिएका थिए । 

त्यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा.अनिल श्रेष्ठ, र प्रा.डा. सुवास आचार्य सहितको टोलीले हरदम आफ्नो सक्रियता देखाए । शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काका अनुसार स्वदेशमै यसअघि धेरै सफल मिर्गौला प्रत्यारोपण भएका थिए । तर प्रधानमन्त्री जस्तो उच्च पदका व्यक्तिको यसरी प्रत्यारोपण भएको थिएन । यसमा सफलता मिल्नु चिकित्सा क्षेत्रकै लागि ठूलो सफलता मानिएको छ । 

स्वदेशका चिकित्सक र अस्पतालाई विश्वास गर्न सकिने अर्को आधार यस प्रत्यारोपणले खडा गरेको छ । बारम्बार चिकित्सक र अस्पताललई लाग्ने गरेको लापरवाहीको आरोपको खण्डन क्रियात्मक रुपमै भएको छ । राम्रो वातावरण पाएमा नेपालका चिकित्सक हरेक प्रकारको उपचार गर्न सक्षम छन् भन्ने प्रमाणित गरेको चिकित्सकहरु बताउँन् । ‘प्रधानमन्त्रीको अटुट आत्मबल र दृढ साहसका साथ स्वदेशमै मिर्गौला प्रत्यारोपण गराउनका लागि गर्नुभएको निर्णय निकै नै प्रशंसनीय र स्वागतयोग्य त छ नै नेपालको प्रत्यारोपण विधालाई चीर स्थायी र भरोसायोग्य बनाउन यस कदमले सहयोग पुर्याएकोछ,’ चिकित्सक अरुण सेढाइले फेसबुकमार्फत भनेका छन् । 

झण्डै १२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छाडेपछि २०६४ साल साउनमा पहिलो पटक उनले मिर्गौला प्रत्यारोपण गराएका थिए । बाह्रबर्ष पश्चात त्यसले काम गर्न छाडेपछि पुन मिर्गौला प्रत्यारोपण गर्नुपरेको हो ।  ओलीको २०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भारतका डा. अनन्तकुमारले प्रत्यारोपण गराएका थिए । उनीपनि प्रत्यारोपण टोलीमा सरिक छन् । 

प्रतिक्रिया दिनुहोस