निर्मलाको हत्यारालाई कारबाही गरेरै छाड्छौ : मन्त्री शाह

सफल खबर संवाददाता

शनिबार, १७ फागुन २०७६, १७ : ३४
निर्मलाको हत्यारालाई कारबाही गरेरै छाड्छौ : मन्त्री शाह

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले समग्रमा सुदूरपश्चिम सरकार सफल भएको दाबी गरेका छन् । शान्ति–सूरक्षा, अमनचयन कायम गर्न, सुशासन कायम गर्न र संघीयता कार्यान्वयनको लागि आफूहरुको सरकार सफल भएको उनको भनाई छ । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आफूहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियानमा जुटेको र सोहीअनुसार सशक्त भूमिका निर्वाह गरिरहेको पनि स्पष्ट पारे । यद्धपी उनले सुदुरपश्चि प्रदेश सरकार गठन भएपछि जनताका थुप्रै आशा र आकांक्षा रहेको र अहिलेपनि विद्यमान रहेको सुनाउँदै ती आकांक्षा पूरा गराउने दिशातर्फ सुदुरपश्चिम सरकार अग्रसर रहेको बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री शाहले सुदुरपश्चिम प्रदेश प्राकृतिक रुपमा पनि धनी रहेको सुनाए । उनले भने,‘हामीसँग अपर कर्णाली छ, पश्चिम सेती छ, यार्सा गुम्बा, बहुमुल्य जडिबुटीहरु छन् । पर्यटकीय हिसाबले पनि हामीसँग विभिन्न सम्पदाहरु छन् । हाम्रो प्रदेश सबै कुराको सम्भावना बोकेको प्रदेश हो ।’

उनले आफूहरुले संघबाट प्राप्त अधिकारलाई सदुपयोग गरेर संघीयता कार्यान्वयनमा अघि बढेको पनि सुनाए । उनले भने,‘राजश्व परिचालन त्यहीअनुसार भैरहेको छ । पुँजीगत खर्च गर्नेमा हाम्रो प्रदेश देशकै दोस्रो प्रदेश बन्यो । अहिलेसम्म हामीले ३२ वटा ऐन पारित गर्यौं । ३७ कार्यविधि बनायौं । १५ वटा निर्देशिका जारी गरेका छौं । चार वटा गठनआदेश बनायौं ।  तीन वटा नियामावली जारी गरेका छौं । हामी यसमा पनि देशको अग्रभागमानै छौं ।’ त्यतिमात्रै होईन, आफूहरुले बजेट कार्यान्वयनमा पनि पारदर्शीता अपनाएको उनले सुनाए । यो बीचमा आफूहरुले वित्तिय सम्मेलनको सफलतापूर्वक आयोजना गरेको र अब छिट्टै लगानी सम्मेलनको आयोजना गरिने पनि उनले जानकारी दिए । 

त्यस्तै, सरकारले विकटता हेरेर सुत्केरीको अवस्था हेरेर स्वास्थ्योपचारको प्रवन्ध गरेको पनि सुनाए । उनले भने,‘त्यसकोलागि हामीले हेलिकप्टर सेवाको प्रवबन्ध गरेका छौं । हवाई उद्धार कार्यक्रम बनाएका छौं । विपन्न वर्गको उपचारमा सहजता होस भनेर आधुनिक एम्बुलेन्सको व्यवस्था गरेका छौं ।’ सरकारले राजश्व र भन्सारमा वृद्धि गरेको र कर छली घटाएको पनि उनको भनाई छ । 

मन्त्री शाहले पश्चिम सेती, अपर कर्णाली, पञ्चेश्वर आयोजना कार्यान्वयनको लागि संघीय सरकारलाई आग्रह गरिएको पनि सुनाए । त्यस्तै, भारत र चीन दुवैसँग नाका खोल्नको लागि संघीय सरकारलाई अनुरोध गरिएको उनले बताए । संघीयता कार्यान्वयनको लागि आफूहरु ईमानदार भएर लागिरहेको सुनाए । उनले भने,‘संघीय व्यवस्था भनेको जनता, कानून र नेतृत्वप्रति उत्तरदायी हुनुपनि हो ।’
यो बीचमा सुदुरपश्चिम प्रदेशले केही दुःखद् पक्ष र विपतको पनि सामना गरेको शाहले सुनाए । उनले भने,‘निर्मला पन्तको दुःखद् घट्ना भयो, अर्को भारतले आफ्नो नक्शामा लिम्पियाधुरा, लिपुलेक र कालापानी राख्यो ।

हामीले तत्काल मन्त्रिपरिषदको बैठक राखेर त्यसको विरोध गर्यौं । हामीले संघीय सरकारलाई पनि यो विवादको समाधानको लागि भारतसँग कुटनीति पहल गर्न आग्रह गरेका थियौं ।’

उनले आफ्नो प्रदेश सरकार कानून निर्माण र पूर्वाधार विकासमा पनि सफल भएको सुनाए । उनले भने,‘संघीयता आफैंमा हाम्रो लागि नयाँ प्रयोग हो । हामी यसको सफल कार्यान्वयनको लागि अघि बढिरहेका छौं । हामी सामूहिक प्रयत्नमा लागिरहेका छौं । सबैबाट सहयोग पाईएको छ ।’ उनले प्रदेश प्रहरी गठनको लागि आफूहरुलाई बाटो खुलेको सुनाउँदै त्यसको लागि पनि सरकारले ठोस निर्णय गरेर अघि बढ्ने जनाए । 

उनले प्राकृतिक विपद् (हावाहुरी) आउँदा भएको क्षतिलाई ध्यान दिएर सोहीअनुसार आपत्तकालिन बैठक राखेर राहत दिएको पनि सुनाए । उनले भने,‘हामीले ५ करोडको बजेट सहयोग गर्यौं ।’ त्यस्तै, उनले सीमा अतिक्रमण भएको विषयमा पनि गम्भिर रुपमा लिएर अघि बढेको स्पष्ट पारे । उनले भने,‘हाम्रो भूमीको रक्षा गर्नु हाम्रो दायित्व हो । त्यो भूमी हाम्रो हो । हाम्रो थियो । र, हाम्रै रहिरहन्छ ।’ 

निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा दोषी पत्ता लगाउनको लागि सुदुरपश्चिम सरकारले तदारुकताका साथ काम गरेको भएपनि अहिलेसम्म दोषी पत्ता लगाउन नसकिएकोमा भने उनले दुःखेसो पोखे । उनले भने,‘प्रहरी प्रशासनले पनि गम्भिर भएर अनुशन्धान गरेको हो । कतिपय घट्नामा अनुशन्धानको लागि समय लाग्छ । अनुशन्धानको पाटो जटिल भयो । पीडितले न्याय पाउनुपर्छ । अनुशन्धानमा ढिलाई भएपनि अपराधीलाई कानूनी कठघरामा उभ्याईन्छ । दोषीलाई कारबाही गरिन्छ ।’

उनले छाउपढी प्रथा उन्मुलनको लागि आफ्नो सरकार गम्भिर रहेको विश्वास दिलाए । उनले भने,‘हामीले यीलगायत केही प्रथालाई कलंकको रुपमा लिएको छ । अहिले यसबारेमा व्यापक जनचेतना भैरहेको छ । सरकारले उन्मुलनको लागि कानूनसमेत बनाएर अघि बढेको अवस्था छ ।’


संविधानले दिएको अधिकारअनुसार आफुहरुले अधिकार लिएको र संघीय सरकारले पनि सोहीअनुसार सहयोग गरिरहेको विश्वास दिलाए । उनले भने,‘अहिलेपनि हक हस्तान्तरण गर्ने कार्यमा संघीय सरकार लागिरहेको छ । हामीले अधिकार पाईरहेका छौं ।’ 

राष्ट्रपति विद्यादेवी भण्डारी सुदुरपश्चि प्रदेशको भ्रमणमा जाँदा प्रदेश सरकारले विदा नदिएको पनि उनले स्पष्ट पारे । उनले भने,‘हामीले विदा दिएका होईनौं, तर स्थानीय गाउँपालिका वा नगरपालिकाले दिएको होला । प्रदेश सरकारले विदा दिएको होईन् । राष्ट्रपति भनेको राष्ट्राध्यक्ष हो ।’

फरक प्रसँगमा नेकपा केन्द्रिय कमिटीका सदस्यसमेत रहेका मन्त्री शाहले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टी सचिवालयको निर्णय सबैले मान्नुपर्ने बताए । उनले भने,‘वामदेवजी जत्तिको योग्य र परिपक्व नेता राष्ट्रियसभामा जानुपर्छ । अर्को कुरा, अर्थमन्त्रीजीपनि अर्थशास्त्रको विज्ञ हो । पार्टीको सचिवालयले जे निर्णय गरेको छ, त्यही निर्णय मान्नुपर्छ । हाम्रो नेतृत्वले क्रुसियल अवस्थामा सप्राईज निर्णय गरेर समाधान गर्ने गरेका छन् ।’ उनले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने र वर्तमान अर्थमन्त्रीलाई पनि निरन्तरता दिन सकिने विकल्प पनि सुनाए ।

प्रतिक्रिया दिनुहोस