नागरिकता कानुनको विषयलाई लिएर दिल्लीमा दंगा : एक प्रहरीसहित सात जनाको मृत्यु

एजेन्सी

मंगलबार, १३ फागुन २०७६, १५ : ३६
नागरिकता कानुनको विषयलाई लिएर दिल्लीमा दंगा : एक प्रहरीसहित सात जनाको मृत्यु

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेकै बेला भारतको राजधानी नयाँदिल्ली तनावग्रस्त बनेको छ । भारतको केन्द्रीय राजधानीमा भएको झडपमा एक प्रहरीसहित सात जनाको मृत्यु भएको छ ।

नागरिकता सम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाहरुका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सोमबार राजधानीका धेरै ठाउँमा प्रदर्शन र झडपका घटना भएका छन् । दिल्ली प्रहरीले घटनामा सात जनाको मृत्यु भएको र त्यसमध्ये एक जना प्रहरी र अरु छ जना सर्वसाधारण नागरिक रहेको बताएको छ । 

केन्द्रीय गृहमन्त्री अमित शाहले झडपको घटना भएपछि सोमबार राती सुरक्षा उच्च अधिकारीहरुसँग छलफल गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद नयाँ नागरिकता कानुनको विषयलाई लिएर विरोध प्रदर्शन भएको हो । प्रदर्शन मङ्गलबार पनि जारी छ । 
गत वर्ष उक्त नयाँ कानुन पारित भएपछि विरोध प्रदर्शनहरू गर्ने क्रममा राजधानीमा घटेको सबैभन्दा हिंसात्मक उक्त घटनामा एकजना प्रहरी र चारजना गैरसैनिकहरूको ज्यान गएको हो।

उक्त नयाँ नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच भएको मुठभेडका क्रममा सवारीसाधनहरूमा आगो लगाइएको थियो। उक्त कानुनले भारतका बीस करोड मुसलमानहरूलाई निशाना बनाउने त्यसका आलोचकहरूले बताएका छन्।

भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना समकक्षीसँग वार्ताको तयारी गर्दैगर्दा राजधानी दिल्लीका केही भाग तनावपूर्ण अवस्थामा छन्।

उत्तर(पूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य भएका क्षेत्रहरूमा आइतवारदेखि हिंसा सुरु भएको थियो जुन सोमवार पनि जारी रह्यो।

गत वर्षदेखि विरोध प्रदर्शन आरम्भ भएयता प्रहरी अधिकारीले ज्यान गुमाएको यो पहिलो घटना हो।

सिएए भनिएको नयाँ नागरिकता संशोधन ऐनले मुसलमान बाहुल्य भएका तीनवटा देशबाट भारत आउने गैर(मुस्लिम आप्रवासीहरूलाई उन्मुक्ति प्रदान गर्दछ।

प्रायस्जसो मुस्लिम महिला तथा पुरुषहरूको नेतृत्वमा विरोध प्रदर्शन गरिरहेकाहरू भन्छन् त्यस्तो कानुनले मुस्लिमहरूलाई भेदभाव गर्दछ। तर हिन्दूवादी समूहहरू भन्छन् ती विरोध प्रदर्शनहरू अनावश्यक हुन्।

पछिल्लो मुठभेड आइतवार सुरु भएको थियो र दुवैपक्षले पहिले हिंसा भड्काएको भनेर एकअर्कालाई दोषारोपण गरेका छन्।

हिंसा जारी रहँदा ढुङ्गामुढा गरिरहेको भिडलाई पन्छाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेको थियो। टेलिभिजन दृश्यहरूमा भवनहरूबाट आगोको लप्का र धुँवाको मुश्लो निस्किरहेको देखिन्थ्यो।

प्रतिक्रिया दिनुहोस