समृद्धि र सुखका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्छ : गृहमन्त्री बादल

सोमबार, १२ फागुन २०७६, १३ : ४८
समृद्धि र सुखका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्छ : गृहमन्त्री बादल

चितवन । गृहमन्त्री रामबहादुर थापा 'बादल'ले समृद्धि र सुखका लागि शान्तिसुरक्षा मजबुत हुनुपर्ने बताउनुभएको छ । प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको आज यहाँ उद्घाटन कार्यक्रममा उहाँले समृद्धि र सुख एउटा पाटो र शान्तिसुरक्षा अर्काे पाटो भएको बताउनुभयो । 

आन्तरिक सुरक्षामा सरकारको जोड रहेको भन्दै उहाँले यसको सुनिश्चित नगरेसम्म विकास सम्भव नरहेको बताउनुभयो । एक पालिका एक इलाका प्रहरी कार्यालय कार्यान्वयन गर्ने नीतिमा सरकार रहेको उहाँले जानकारी दिनुभयो । 

प्रहरीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “अपराधीको मतियार नभई जनताको सेवक भई काम गर्नुहोस् ।” मन्त्री थापाले प्रहरी जनताको शत्रु नभएर साथी भएको भन्दै आम जनतालाई सङ्कटबाट मुक्त गर्न प्रहरीको भूमिका हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शान्तिसुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरी र नागरिक समाजबीच एकता आवश्यक छ ।” पहाडी क्षेत्रमा प्रहरी चौकी विस्तारको रणनीतिमा सरकार रहेको उहाँले स्पष्ट पार्नुभयो । 

चितवन जिल्लाको विकास तीव्र गतिमा भइरहेको भन्दै उहाँले यो विकाससँगै सुरक्षाका लागि प्रहरी लागिपरेको बताउनुभयो । सुरक्षाका लागि प्रदेश प्रहरी गठन र समायोजनको प्रक्रिया शुरु भएको मन्त्री थापाले बताउनुभयो । 

एघार कोठे सो भवन रु एक करोड ५३ लाख ५३ हजार ३१८ लागतमा निर्माणसम्पन्न भएको हो । भवनमा कार्यालयसहित थुनुवा कक्ष रहेका छन् । चौकीले कालिका नगरपालिका क्षेत्र हेर्दै आएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस