अनुगमनपछि राँके–रवी–भेडेटार सडक निर्माणको गति

रासस

शनिबार, १० फागुन २०७६, २० : ०९
अनुगमनपछि राँके–रवी–भेडेटार सडक निर्माणको गति

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले स्थलगत अनुगमन तथा निरीक्षण गरेपछि राँके–रबि–भेडेटार सडक निर्माणले गति लिएको छ । मन्त्री नेम्वाङसहित मन्त्रालयको टोलीले स्थलगत निरीक्षण गर्दै निर्धारित समयमै काम पूरा गर्न तथा गराउन सम्वद्ध पक्षलाई निर्देशन दिएपछि निर्माणले गति लिएको हो । पछिल्लोपटक यस सडकको राँके–रबि खण्डमा सडक विस्तारको कामले गति लिएको छ । निर्माणमा निर्माण उपकरण तथा कामदारको सङ्ख्यासमेत बढेको छ ।

राँके–रबिखण्डको अधिकांश स्थानमा सडक विस्तार (ब्याक कटिङ)को काम अघि बढेको छ । गत वर्षको पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको यो सडकको एक वर्षसम्म निर्माणकार्य पाँच प्रतिशत पनि पूरा भएको थिएन । निर्माणले गति लिन नसकेपछि मन्त्री नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलगायतको टोलीले गत पुस २५ गते स्थलगत अनुगमन गरेको थियो ।

एक सय एक किलोमिटर लामो उक्त सडकमा एउटा पनि पुल निर्माण गर्नु नपर्ने तथा धेरै चट्टानसमेत नभएका कारण निर्माणकार्य अघि बढाउन ठूलो चुनौती छैन । सडक निर्माणमा स्थानीयस्तरमा अवरोध र समस्यासमेत नरहेकाले द्रूतगतिमा निर्माण अघि बढाई निर्धारित समयमै निर्माणकार्य पूरा गर्न मन्त्री नेम्वाङले निर्माण कम्पनी र उक्त सडक हेर्ने आयोजनाका प्रमुखलाई निर्देशन दिनुभएको थियो । मन्त्री नेम्वाङको निर्देशनपछि निर्माण कम्पनीका सञ्चालक र आयोजना कार्यालयले निर्माण प्रगतिको निरन्तर अनुगमन गर्दै आएको छ ।

स्थानीयवासीका अनुसार पछिल्लोपटक राँके–रबि खण्ड निर्माणकार्यले गति लिन थालेको छ । अनुगमनका क्रममा मन्त्री स्थानीयवासीसँग अन्तक्र्रिया गर्दै मन्त्री नेम्वाङले सडक निर्माणमा चासो राख्न आग्रह गर्नुभएको थियो । त्यसपछि स्थानीयवासी र स्थानीय जनप्रतिनिधिको चासो बढ्दै गएको छ । निर्माणकार्यले पछिल्लोपटक गति लिएको र त्यसको निरन्तरता आवश्यक रहेको पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले बताउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सहुलियत ऋण सहयोगअन्तर्गत यो सडक निर्माण गर्ने समझदारी भएको थियो । गत वर्षको पुस २० गते प्रधानमन्त्री ओलीले पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रबिमा यो सडकको शिलान्यास गर्नुभएको थियो । १०१ किलोमिटर लामो यो सडकले पाँचथर, इलाम र धनकुटा जिल्लालाई जोड्दछ । यस सडकबाट यी जिल्लाका अतिरिक्त मोरङ, ताप्लेजुङ र तेह्रथमुका नागरिकले समेत प्रत्यक्ष लाभ लिन सक्दछन् ।

न वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सडकको पूर्ण ट्र्याक खोल्ने कामले नै अपेक्षाकृत गति लिन नसकेपछि मन्त्री नेम्वाङसहितको टोलीले स्थलगत निरीक्षण तथा अन्तक्र्रिया गरेको थियो । सात मिटर चौडा बाटोले यहाँका धेरै व्यापारिक केन्द्रहरु र ठूलो परिमाणमा कृषि उपज उत्पादन हुने क्षेत्रलाई जोड्नेछ । विसं २०४६ पछि यो सडकको ट्र्याक खोलिए पनि स्तरोन्नति र कालोपत्र हुनसकेको थिएन । भारतको आयात–निर्यात (एक्जिम) बैंकको रु तीन अर्ब ६५ करोडको ऋण सहयोगमा यो सडक निर्माण हुन लागेको हो । यस आयोजनाको ८७ प्रतिशत लगानी भारतीय सरकारको ऋण सहयोग रहेको छ भने बाँकी १३ प्रतिशत नेपाल सरकारले लगानी गरेको छ । सडक निर्माणको जिम्मा भारतीय कम्पनी एप्कोले पाएको छ । 

प्रतिक्रिया दिनुहोस