किन अर्थमन्त्री डा. युवराज खतिवडाले दिए त्यस्तो चेतावनी ?

सफल खबर संवाददाता

शनिबार, १० फागुन २०७६, ०९ : २४
किन अर्थमन्त्री डा.  युवराज खतिवडाले दिए त्यस्तो चेतावनी ?

काठमाडौंँ । वर्तमान सरकार दुई तिहाईको छ । नेकपाको एकलौटी सरकार छ । विकास खर्च २२ प्रतिशत भन्दा बढी हुन सकेको छैन । भन्सारमा राजश्व संकलनको दर असाध्यै कम रहेको छ । आन्तरिक राजश्व पनि उस्तै कम उठेको छ ।

सरकारी निकाय सूचना दिनै मान्दैनन् । सूचना दिए कारवाहीमा परिने डरले कर्मचारीमा एक प्रकारको डर छ । विशेष गरी पछिल्लो समय, अर्थ मन्त्रालय र मातहतका निकायमा सूचना पाउन सजिलो छैन । सूचना माग्न गए आनाकानी गर्दै सबै तर्किने गरेका छन् । सूचना दिए कारवाहीमा परिने त्रास उनीहरुमा छ । यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीहरुलाई फोन समेत ट्रयाकिङ गर्ने चेतावनी समेत दिएका छन् ।

पछिल्ला दिनमा राजश्व संकलन तथा आन्तरिक राजश्व संकलन असाध्यै कम देखिएको छ । सरकारले करिब ९ खर्ब बराबरको राजश्व उठाउने लक्ष्य राखेको छ । अर्धवार्षिक समीक्षा पश्चात् बजेटको आकार समेत डेढ खर्ब जति घटाएको छ । कूल १५ खर्ब बराबरको बजेटको आकार घटाउनुको अर्थ पूँजीगत खर्च नहुने र अपेक्षा अनुसार राजश्व नउठ्नु  नै रहेको छ ।

सोही क्रममा पछिल्ला दिनमा अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालय मातहतको कुनै पनि सूचना आधिकारिक व्यक्ति बाहेक अरुले दिए कडा कारवाही गर्ने चेतावनी मात्रै दिएका छैनन्, सूचना चुहिएको खण्डमा विभागिय कारवाही हुने चेतावनी समेत दिएको कर्मचारीहरुको भनाई छ । अर्थमन्त्री डा. खतिवडाले भन्सार विभाग तथा आन्तरिक राजश्व विभाग तथा अन्य सरकारी निकायको तथ्यांक गलत रुपमा सञ्चार माध्यममा पुगेको भन्दै कारवाही गर्ने चेतावनी दिएको स्रोतले जनाएको छ ।

कुनै समय आफ्नै ज्वाईलाई अर्थ मन्त्रालयमा राखेर धन्दा चलाएको भन्ने आरोप लागेका अर्थमन्त्री डा खतिवडाले कर्मचारी एवम् जिम्मेवार निकायका अधिकारीको मोबाइल समेत ट्रयाकिङ गर्ने चेतावनी दिँदै आधिकारिक व्यक्ति बाहेक अरुले बोले सेवाबाट हटाउने समेत चेतावनी दिएको उनी निकटस्थहरुले बताएका छन् ।

सरकारी तथ्यांक गलत रुपमा सञ्चार माध्यममा पुगेको र त्यसमा कर्मचारीले अनाधिकृत रुपमा तथ्यांक दुरुपयोग गरिएको भन्दै अर्थमन्त्री रिसाएको एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने । मन्त्री खतिवडाले अर्थमन्त्रालयको तथ्यांकमा आफ्नो समेत नाम जोडेर गलत प्रचार गरिएको निकटस्थहरुसँग गुनासो गर्दै आएका छन् । मन्त्रालयमा रहेका नेपाली काँग्रेस निकटका कर्मचारीले तथ्यांक दुरुपयोग गर्ने तथा गराउन एउटा अदृश्य गिरोह नै खडा भएको आशंका गर्दै  अर्थमन्त्रीले गलत गर्नेलाई कारवाहीको चेतावनी दिएका छन् ।

अर्थ मन्त्रालयका एक कर्मचारीका अनुसार फेसबुक म्यासेन्जर, ह्वाट्स एप , भाइबर तथा वीच्याट जहाँबाट सूचना दिएपनि त्यसको ट्रयाकिङ गर्ने र सूचना दिएको पाइए कारवाही गर्ने चेतावनी दिएका छन् । मन्त्रीज्यूको कडा चेतावनी छ , हामी अब तपाईहरुलाई कुनै सूचना दिन सक्दैनौ, सूचना चाहिए मन्त्रीलाई नै भेट्नुस होइन भने, सूचना नहुने प्रवक्तासँग भेटनुस । ती कर्मचारीले अर्थमन्त्रीले आफूलाई नराम्ररी हपारेको समेत गुनासो गरे ।   अर्थमन्त्रीले मिडियासँग सम्बन्ध बनाउन मन लागे जागिर छाडेर मिडियामा गए हुन्छ, सरकारी कर्मचारी भएपछि सिस्टममा बस्नुपर्छ, भन्दै गलत गर्नेलाई नछाड्ने चेतावनी दिएका छन् ।

अर्थमन्त्री डा. खतिवडाले केही दिन पहिले मन्त्रालयमा कर्मचारी, नेपाल राष्ट्र बैंक तथा बैंकर्स संघ र वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरु बोलाएर छलफल गरेका थिए । यस्तै मन्त्रालय मातहतका सबै पदाधिकारी बोलाएर छलफल गरेका थिए । सो छलफलमा समेत उनले प्रवक्ता बाहेक अरु कर्मचारीले सूचना दिए कारवाही एवम् विभागिय कारवाहीको चेतावनी दिएका हुन् ।

विशेष गरी भन्सार विभाग, नेपाल राष्ट्र बैंक, महालेखा तथा अर्थ मन्त्रालयको तथ्यांक नै फरक फरक रहेको र सरकारले सूचना लुकाएको भन्दै विभिन्न सञ्चार माध्यममा अर्थमन्त्रीको सन्दर्भमा आलोचनात्मक समाचार बढी आउन थालेका छन् । राष्ट्रियसभा सदस्यको रुपमा रहेका डा. खतिवडाको कार्यकाल सकिएको तथा पुनः म्याद थप हुने वा नहुने भन्ने बारेमा कुनै निर्णय नभएकाले पनि उनी बिच्किएको धेरैको अनुमान छ ।

पछिल्लो समय, अर्थमन्त्रीको निर्देशनमा नै मन्त्रालयले सार्वजनिक महत्वका सूचनाहरु लुकाउने गरिएको गुनासो बढ्दै गएको छ । मन्त्रालयले विकास खर्च बढाउन मनलाग्दी तवरले बजेटको रकमान्तर गरेको छ । सो कुराको पुष्टि राष्ट्रिय योजना आयोगका उपाध्यक्षले सार्वजनिक रुपमा नै गरेका छन् । बजेट रकमान्तर गरी आफूलाई मन लागेको ठाँउमा रकम दिएको तथा राजश्वको तथ्यांक समेत तोडमोड गर्न थालेपछि अर्थमन्त्रीका विरुद्ध विभिन्न खालका समाचार सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस