चीनबाट ल्याएका नेपालीहरुमा कोरोना भाइरस नभएको पुष्टि

बुधबार, ०७ फागुन २०७६, १३ : ४३
चीनबाट ल्याएका नेपालीहरुमा कोरोना भाइरस नभएको पुष्टि

काठमाडौं । चीनबाट ल्याएका नेपालीहरुमा कोरोना भाइरस नभएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले चीनबाट नेपाल ल्याइएका नेपालीहरुको स्वास्थ्य परीक्षणका क्रममा कसैमा पनि कोरोना भाइरस नभएको जनाएको छ । 

मन्त्रालयले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महेन्द्र श्रेष्ठले फागुन ४ गते चीनको ऊहानबाट ल्याएका १७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र त्यसक्रममा कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिए ।  
मन्त्रालयले कोरना भाइरस फैलन नदिन सरकारले निगरानी गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएकोछ  । 

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, फागुन ६ गते अपराह्न प्राप्त जानकारीअनुसार १७५ जनाको नाक र घाँटीभित्रको नमुनाहरुमा नोवल कोरोना भाइरसका लागि रियल टाइम आरटी–पीसीआरबाट परीक्षण गर्दा कुनै पनि नमुनामा २०१९ नोवल कोरोना भाइरस नभेटिएको जानकारी गराइन्छ’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरस नभएको पुष्टि भएपछि नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालय ज्यादै खुसी भएको विज्ञप्तिमा उल्लेख छ ।

“अब, क्वारेन्टाइनमा बसेको १४ औं दिनपछि पनि पुनः प्रत्येक व्यक्तिको नाक र घाँटीभित्रको स्वावको नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याएर परीक्षणसमेत हुने जानकारी गराइन्छ,” विज्ञप्तिमा भनिएको छ ।