चीनमा रहेका नेपाली विद्यार्थीले भक्तपुरवासीलाई भने– हामी रोगी भएर आउन लागेका होइनौँ, डराउनुपर्दैन

सफल खबर संवाददाता

मंगलबार, २८ माघ २०७६, १७ : ०३
चीनमा रहेका नेपाली विद्यार्थीले भक्तपुरवासीलाई भने– हामी रोगी भएर आउन लागेका होइनौँ, डराउनुपर्दैन

काठमाडौँ । सरकारले चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई भक्तपुरको खरिपाटीमा राखिने भएको छ । 

भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिने भएको हो ।

अहिले सो क्षेत्रमा भौतिक, प्राविधिक र चिकित्सकीय तयारी भइरहेको छ ।

आवश्यक तयारी पूरा भएपछि चीनमा रहेका नेपालीलाई उद्धार गरी खरिपाटीमा राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्नका लागि १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरु तयारी अवस्थामा राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका अनुसार चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा गरिएको छ ।

चीनबाट नेपाली विद्यार्थीले भक्तपुरवासीलाई भनेका कुरा :

मेरो नाम अमित श्रीवास्तव हो। म चीनको हुबे यूनिभर्सिटी अफ मेडिसिनमा इन्टर्नल मेडिसिनमा स्नातकोत्तर गर्दैछु।

म वुहान सहरबाट द्रुत गतिको रेलमा दुई घण्टा लाग्ने स्थानमा बस्छु। हामी यहाँ अहिले क्वारन्टीनमा छौँ। तर नेपालमा कोरोनाभाइरसबारे गलत कुराहरू फैलिरहेका छन्।

त्यही कारणले होला भक्तपुरमा विरोध भएको हामीले समाचार पढिरहेका छौँ। म आफैँ पनि चिकित्सक हुँ। यहाँ अस्पतालमै काम गर्नुपर्छ।
कोरोनाभाइरस हावाबाट सर्ने रोग होइन। यो श्वासप्रश्वासजन्य रोग भए पनि हावामा भाइरस गएपछि त्यो अर्को व्यक्तिसम्म पुग्दैन।

खासमा यो सर्ने भनेको बिरामीको खकार, थुक, र्‍याल र रगतबाट हो।

कसैले खोकी लागेको बेला हात मुखमा लगेको छ र त्यही हातले समातेको वस्तु अर्को व्यक्तिले पनि समात्यो भने भाइरस सर्न सक्छ।

हावाबाट फैलिने भएको भए त यहाँ हामी कोठामा बसे पनि रोगी भइसक्थ्यौँ नि।

नेपालमा विशेषगरी भक्तपुरका मानिसहरूले हामी बिरामी भएर त्यहाँ आउँदै गरेका होइनौँ भन्ने बुझ्नुभएको छैन। हामी स्वस्थ रूपमै आउने हौँ ।

कसैलाई सङ्क्रमण भएको रहेछ भने नसरोस् भनेर १४ दिनको समय राखिएको हो।

नेपाल आउँदा हामीलाई चीनले स्वास्थ्य जाँच गराएर मात्र पठाउँछ। बिरामी भेटिए त नेपाल जान दिँदैन।

अहिले चीनका विभिन्न स्थानमा यो फैलिसकेको छ। तर त्यहाँबाट नेपालमा पर्यटकहरू गइरहेका छन्।

खासमा त उनीहरूबाट पो डराउनु पर्ने हो सरकार। हामीसँग किन डराइरहेको छ ?

हामी मानव बमु होइनौँ, न त रोगी नै हौँ। यस्तो बेलामा पनि सरकार र नेपालीहरूले साथ नदिने भए हामीलाई कसले साथ दिन्छ ?

म भक्तपुरका मानिसहरूलाई विनम्र अनुरोध के गर्छु भने तपाईंहरू डराउनुपर्दैन। हामी रोगी भएर आउन लागेका होइनौँ। बीबीसीको सहयोगमा