परालको कुन्यूमा जलाएर मारिएका व्यक्ति भारतीय

बुधबार, २२ माघ २०७६, २२ : ०१
परालको कुन्यूमा जलाएर मारिएका व्यक्ति भारतीय

सुरुङ्गा । परालको कुन्यूमा जलाएर हत्या गरिएको भनिएका व्यक्ति भारतीय नागरिक सुभान शेख भएको खुलेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय शेख भारतीय हुन् ।

शेखकी श्रीमती सुष्माले जलेका व्यक्तिको आंैठी, चप्पल, स्वीटर र औंलाका आधारमा आफ्ना श्रीमान् भएको भन्दै सनाखत गरेसँगै जलाएर मारिएका व्यक्ति सुभान नै भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

नचिनिने अवस्थामा शव फेला परेपछि शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले शव परीक्षणमा पठाएको थियो । शव पहिचानका लागि उनकी श्रीमती सुषमासहित सासू र ससुरालाई मङ्गलबार नै इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरीले आज तारेखमा छाडेको छ ।

प्रहरीले शवको मुचुल्का उठाउन सङ्घीय एकाई प्रहरी कार्यालय धरानबाट तालीमप्राप्त कुकुर झिकाएर घटनास्थलको अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय एनकुमारको खेतमा राखिएको परालमा सोमबार राति १२ बजेदेखि आगो लागेको थियो । सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो– “घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।”
मजदूरी पेशा गर्दै आएका  सुभान ससुरालीमा बसेका थिए । केही महिना अघि सुभान र सासू रहानाबीच घरायासी विवाद भएपछि उनी ससुराली छाडेर एक्लै डेरामा बस्दै आएका थिए । उनका एक छोरा र एक छोरी छन् । (रासस)