समाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्छ : अर्थमन्त्री खतिवडा

बुधबार, २२ माघ २०७६, १४ : १६
समाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले आम सञ्चारका माध्यमबाट सरकारले गरेका राम्रा कामको पर्याप्त प्रचार हुन नसकेको बताउनुभएको छ ।  

   बल्खुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास गर्दै उहाँले सञ्चारमाध्यमले नागरिकमा जागरण ल्याउने र  सरकारले गरेका राम्रा कामको प्रचार आवश्यक रहेको बताउनुभयो ।

    अर्थमन्त्री खतिवडाले नैतिक र समाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै नैतिक मूल्य र मान्यतालाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । 

    “पत्रकारिताको अध्ययनमा प्रविधिको प्रयोगलाई बढाउनु पर्दछ । डिजिटल प्रविधिसहितको भवन निर्माण यसैको सङ्केत हो”, उहाँले भन्नुभयो, “नयाँ र डिजिटल मिडियाको प्रयोग सञ्चारमाध्यमलाई विश्वसनीय बनाउदै लगेको छ ।”

    अर्थमन्त्री खतिवडाले डिजिटल मिडियाको बढ्दो प्रयोगले छापा माध्यमको लोकप्रियता घट्ने हो कि भन्ने चिन्ता व्याप्त छ तर छापा माध्यमको आफ्नो छुट्टै महत्व रहेकाले यसको विश्वसनीयता नघट्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एउटै संस्थाका रुपमा विकास गर्ने गरी ऐन निर्माण गर्न लागिएको जानकारी दिदैं खोज अनुसन्धान र अन्वेषणमूलक शिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेकाले यसका लागि विश्वविद्यालय अनुदान आयोगलाई पर्याप्त बजेट उपलव्ध गराउन लागेको बताउनुभयो । 

    “प्राविधिक, वैज्ञानिक र व्यवसायिक शिक्षामा सरकारको सहयोग रहन्छ” उहाँले भन्नुभयो, “शिक्षाको विकासका लागि सरकारले नीजि क्षेत्रसँग पनि आवश्यक सहकार्य गर्दै अघि बढ्छ ।” 

    उहाँले सरकारले सबै स्थानीय तहसम्म इन्टरनेटको पहुँच पु¥याउन लागेको जानकारी पनि दिनुभयो ।

    त्रिविका पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रमुख चिरञ्जीवि खनालले २१ करोड ५५ लाख ९५ हजार लागतमा उक्त भवन निर्माण हुन लागेको जानकारी दिनुभयो । 

    उहाँले विभागमा जनशक्ति अभावका कारण कार्यसम्पादनमा समस्या आउने गरेको उल्लेख गर्दै आवश्यक जनशक्तिको व्यवस्था गरी काम कारवाहीलाई प्रभावकारी बनाइने बताउनुभयो ।  

    इन्जिनियरिङ अध्ययन संस्थानका परामर्श सेवाका प्रमुख नारायण गौतमले पत्रकारिताका विविधि आयमलाई सङ्केत गर्ने गरी भवनको डिजाइन तयार गरिएको बताउनुभयो । उहाँका अनुसार नयाँ बन्ने भवनमा पुस्तकालय, प्रयोगशालासहित ७० जना विद्यार्थी अट्ने कक्षा कोठा र रेडियो, टेलिभिजन प्रशारण हुने प्रविधि जडान गर्न मिल्ने व्यवस्था गरिएको छ । 

    भवन निर्माण समितिका संयोजक देवराज अर्यालका अनुसार दुई वर्षमा बन्ने भवन साढे चार तलाको हुनेछ । (रासस) 

प्रतिक्रिया दिनुहोस