गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालामा निर्माणका लागि धनधान्यान्चल

देशकै गर्व गर्ने लायक रंगशाला निर्माणमा चितवनबासी एकजुट

उर्गेन तामाङ

आइतबार, १९ माघ २०७६, २२ : २३
देशकै गर्व गर्ने लायक रंगशाला निर्माणमा चितवनबासी एकजुट

चितवन । भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोगार्थ हजारौंको सहभागितामा आजबाट धनधान्यान्चल महोत्सव सुरु भएको छ । २ वर्ष भित्र सक्ने उद्येश्यले निर्माण भईरहेको रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन धनधान्यानचल महोत्सव शुरु गरिएको हो । महोत्सव उदघाटनको दिन आज रंगशालामा हजारौं सर्वसाधारण ओईरिएका थिए ।

महोत्सवको आइतवार वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी) संगै विभिन्न विधाका २१ राष्ट्रिय खेलाडीहरुले संयुक्त रुपमा उदघाटन गरे । महोत्सवबाट शुरु हुनु पुर्व हजारौंको संख्यामा ¥याली निकालिएको थियो । विभिन्न भेषभुजा सजिदैं  परम्परागत पहिरनमा ओईरिएका विभिन्न जातजातिले बाजागाजा सहित झांकी निकालेका थिए ।  ५० करोड उठाउने लक्ष्य राखिएको महायज्ञको पहिलो दिनमै दश लाख बढीको जिन्सी सामान तथा नगद सहयोग प्राप्त भएको छ ।

महोत्सव उद्घाटन  गर्दै कलाकार हरिवंश आचार्यले राष्ट्रका लागी सबैले सकेको योगदान गर्ने हो भने देश समृद्धिको सपना पुरा हुन धेरै समय नलाग्ने बताए । उनले कलाकारले देश निर्माणको अभियन्ता बनेर विभिन्न परियोजना सम्पन्न गरेको भन्दै धुर्मुस सुन्तलीको प्रसंशा गरेका थिए । यस्तै मदनकृष्ण श्रेष्ठले सिंगो देशले गर्व गर्ने रंगशाला निर्माणमा मह जोडीको तर्फबाट १ लाख सहयोग गर्ने उद्घोष गरे । उनले देशकै गर्व गर्ने लायक निर्माण भईरहेको रंगशालामा सबै एकजुट भएको देख्दा खुसी लागेको बताए ।

धनधान्यचलका प्रमुख बाचक पण्डित दिनबन्धु पोख्रेलले सवैले जोडबल गर्नुपर्ने बताए । पोख्रेलले कुनै पारिश्रमिक बिना धनधान्यचलमा प्रमुख वाचकको जिम्मेवारी लिएका छन । उनले अब नेपालले विश्वको नेतृत्व लिने दावी गरे । वेद र बुद्धले विश्वलाई नेपाल चिनाइरहेकाले अब यसको महत्व बुझदै जाँदा विस्तारै संसारको ध्यान नेपालमा पर्दै गएको पोख्रेलको भनाई थियो । सवैले सेवा भावले निश्वार्थ सहयोग गरे कोहि कसैले दुख नपाउने उनले तर्क राखे ।

रंगशाला निर्माणको कामले थप तिब्रता पाइरहेको अवस्थामा धनधान्याचल महोत्सव हुनु खुसीको कुरा भएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले बताए । उनले जनस्तरबाट बन्ने रंगशालालाई दिल खोलेर सकेको सहयोग गर्न पनि सवैसँग आग्रह गरे । उनले यसअघि देखिएको सुन्दर सपना विपनामा परिणत हुदै गइरहेको बताए । धुर्मुसका अनुसार अवको ४ महिनामा क्रिकेट खेल्ने ग्राउण्ड तयार हुनेगरी काम भईरहेको छ ।

उद्घाटन कार्यक्रममा सांसद कृष्णभक्त पोख्रेल, विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेकपा चितवनका अध्यक्ष यम बहादुर परियार, कांग्रेस सभापति जितनारायण श्रेष्ठ, फुटबल, क्रिकेट लगायत विभिन्न विधाका राष्ट्रिय खेलाडीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । उनीहरुले यो रंगशाला देशकै लागि नुमना परियोजना भएकाले सबैले सक्दो सहयोग गर्न अपिल गरे ।

२६ गते सम्म चल्ने महोत्सवलाई व्यवस्थित गर्न प्रदेश सांसद विजय सुवेदीको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय मुल समारोह समिति गठन गरीएको छ । ५९ वटा विभिन्न उपसमितिहरु र २ सय ८३ सदस्यीय सचिवालय गठन गरीएको छ । चितवनका सवै ७ स्थानिय तह र नवलपुरको एक स्थानिय तहका प्रमुखहरुको नेतृत्वमा स्थानिय तह स्तरीय समिति, हरेक वडामा वडाअध्यक्षको नेतृत्वमा वडास्तरीय समिति गठन गरीएको छ ।

भरतपुर–१५ रामपुरमा निर्माणधिन रंगशाला ३० हजार क्षमताको रहेको छ । ३ अर्ब लागत अनुमान गरीएको रंगशाला निर्माणका लागी देश तथा विदेशबाट हरेक दिन सहयोग आउने क्रम जारी छ । रंगशालामा सबै जिल्लाको प्रतिनिधित्व होस भनेर ७७ वटै जिल्लाको गतिविधि समेटिने गरि कक्ष  समेत निर्माणको क्रममा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस