भ्रष्टाचार सूचकांकमा नेपाल ११ स्थान माथि उक्लियो

पत्रपत्रिकाबाट

शुक्रबार, १० माघ २०७६, ०७ : ३६
भ्रष्टाचार सूचकांकमा नेपाल ११ स्थान माथि उक्लियो

काठमाडौं । नेपालको सुशासनको अवस्थामा सुधार हुँदै गएको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई)मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ ।

गत वर्ष ३१ अंक पाएको नेपालले यस वर्ष ३४ अंक पाएर केही माथि उक्लिँदै सुधार गरेको हो । तर, अझै पनि नेपालको अवस्थामा आशा गरेअनुरूप सुधार आउन नसकेको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । भ्रष्टाचार अवधारणा सूचकांकले ५० अंक ल्याउने मुलुकलाई सुशासनको अवस्था राम्रो भएको मान्ने गरेको छ । सूचकांकमा ५० भन्दा कम अंक पाउने मुलुक भ्रष्टाचारग्रस्त मानिन्छन् । नेपालको अवस्था अझै सुधारोन्मुख रहेको टीआईको निष्कर्ष छ ।

सन् २०१८ मा १२४औं स्थानमा रहेको नेपाल यस वर्ष ११३आंै स्थानमा उक्लिएको छ । यस वर्ष नेपालले तीन अंक बढी पाएर कुल ३४ अंक बनाए पनि सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमध्ये २०औं स्थानमा छ । भ्रष्टाचार अवधारणा सूचकांक २०१९ का लागि ६ वटा अन्तर्राष्ट्रिय संस्थाले सर्वेक्षण गरेका थिए । विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्स्म्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमेक्रेसी प्रोजेक्ट (भीडीईएम) को सर्वेक्षणका आधारमा सूचकांक प्रतिवेदन सार्वजनिक गरिएको हो ।

नेपाललाई विश्व बैंकले ३५ अंक दिएको छ भने वल्र्ड इकोनोमिक फोरमले ४० नम्बर, ग्लोबल इनसाइटले ३५ नम्बर, बर्टेल्स्म्यान फाउन्डेसनले २९ नम्बर, वल्र्ड जस्टिस प्रोजेक्ट ३५ नम्बर र भेराइटिज अफ डेमेक्रेसी प्रोजेक्टले २९ नम्बर दिएको छ ।

१ सय ८० मुलुकमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सफरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचारको नियन्त्रणको प्रयास सुधारोन्मुख भए पनि आशाअनुसारको प्रतिफल प्राप्त नभएको जनाएको छ । एक वर्षको अवधिमा भ्रष्टाचार नियन्त्रणका लागि स्थापित निकायहरू गत वर्षको तुलनामा बलियो र मजबुत देखिन थालेका छन् ।

गत वर्षको तुलनामा नेपालले एउटाबाहेक सबैजसो क्षेत्रमा बढी अंक पाएको छ । आयात–निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्याय प्राप्तिका लागि घुसखोरीको विषयमा स्थिति सुधार भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल च्याप्टरका मुकुन्द प्रधानका अनुसार सन् २०१९ मा विश्वभर भ्रष्टाचार विरोधी अभियानमा शिथिलता आएको छ । पैसाले राजनीतिमा प्रभाव पारेका मुलुकमा भ्रष्टाचार मौलाएको देखिएको उनले बताए । सन् २००४ देखि नेपालमा ट्रान्सपरेन्सीको सूचांकमा समेटिन थालेको हो ।

सर्वेक्षणअनुसार निर्वाचनपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचार जस्ता दीर्घकालीन समस्या विद्यमान रहेको देखिन्छ । इन्टरनेसनल नेपालले भनेको छ, ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१९ मा नेपालले पाएको स्कोरले भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको देखिन्छ ।’

ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष डेलिया फरेरा रुवियोका अनुसार ‘सरकारी तहमा हुने भ्रष्टाचारबाट आजित जनतामा राज्यका निकायप्रतिको गिर्दो विश्वास हटाउन राजनीतिक सदाचारतर्फ उन्मुख हुनुपर्ने देखिएको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस