ब्वाइफ्रेन्डसँग म्युजिक भिडियो

विहीबार, ०९ माघ २०७६, १७ : ५८
ब्वाइफ्रेन्डसँग म्युजिक भिडियो

काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले प्रदीप खड्काको डेट कुरिरहेकी छिन् । प्रदीपको फिल्म ‘प्रेम गीत ३’को सुटिङ निर्धारित मितिमा नसकिँदा साम्राज्ञीले उनीसँग जोडी बनेर गर्न लागेको हेमराज बिसीको फिल्म फ्लोरमा जान सकेको छैन । ‘मारुनी’ र ‘रातो टीका निधारमा’को बक्सअफिस आँकडा हेरेपछि कुनै पनि निर्माताले साम्राज्ञीलाई मोटो रकम दिएर साइन गर्न हिम्मत जुटाउन सकेका छैनन् ।

फलतः उनको दैनिकी प्रेमी देवांश राणाको वरिपरि चक्कर लगाएर बितिरहेको छ । तर, चक्कर लगाएर मात्र कति बस्नु ? हामीलाई त साम्राज्ञी खाली बसेको देख्दादेख्दा वाक्क लागिसक्यो भने उनी स्वयंलाई कति लाग्यो होला । अन्ततः उनले म्युजिक भिडियो खेल्ने निर्णय गरेकी छिन् । तर, रमाइलो कुरा के छ भने म्युजिक भिडियो खेल्दा उनले मोडल चाहिँ अरू हैन, देवांश  नै चुनेकी छिन् ।

फेसबुकमा सार्वजनिक गरेको सुटिङको तस्बिरमा साम्राज्ञीले लेखेकी छिन्, ‘अफस्क्रिन कपल इन अनस्क्रिन ।’ उनी फिल्ममा पनि व्यस्त हुने हो भने देवांशलाई फिल्ममा पनि डेब्यू गराए हुन्छ । जोडी खेल्ने भनेपछि निर्माता ओइरो लाग्छन् । नपत्याए, पूजा शर्मा–आकाश श्रेष्ठ र सौगात मल्ल–सृष्टि श्रेष्ठको व्यस्तता हेरे पुग्छ । - सम्पूर्ण साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस