माग्ने बुढाले गरे आफूलाई कारबाही गर्ने ट्राफिक प्रहरीको प्रशंसा

सफल खबर संवाददाता

बुधबार, ०८ माघ २०७६, १८ : ०४
माग्ने बुढाले गरे आफूलाई कारबाही गर्ने ट्राफिक प्रहरीको प्रशंसा

काठमाडौं । हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा)लाई  ट्राफिक प्रहरीले कारबाही गरेको छ । सिट बेल्ट नलगाइ कार चलाएका कारण उनी कारबाहीमा परेका हुन् ।

बुधबार बिहान ग्वोर्कोस्थित घरबाट कामको सिलसिलामा बाहिर निस्किने बितिक्कै कारबाहीमा परेका उनी त्यसपछि  महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका थिए ।

महाशाखामा पुगेपछि घिमिरेले ट्राफिक प्रहरीको ब्यवहारको प्रशंसा गरेका छन् । घिमिरेले चिट काट्ने ट्राफिक प्रहरी जवानको मिठो बोली र ब्यवहारको प्रशंसा गरेका हुन् ।

चिट काट्ने ट्रफिक प्रहरीले आफूसँग मिठो बोली, वचन गरेको भन्दै घिमिरेले महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवाद समेत दिए । ‘मैले सिट बेल्ट लगाउन बिर्सिएछु’ घिमिरेले भने ‘ट्राफिक भाइले कारबाही गर्छु है भनेर मिठोसँग भन्नुभयो ।’ प्रहरीको मिठो बोलीका कारण आफुले सजिलै लाइसेन्स दिएको घिमिरेले सुनाए । 

महाशाखा प्रमुख ढकालसँग उनले आफूलाई कारबाही गर्ने जवानलाई फेरि भेट्ने इच्छा गरे । त्यही अनुरुप ट्राफिक प्रहरी जवान सन्तोष चौधरीसँग उनको भेट भयो । भेटमा उनल प्रहरी जवानलाई राम्रो व्यवहारका लागि आभार समेत प्रकट गरे ।  घिमिरेले प्रहरी जवान चौधरीको व्यवहारको सबै प्रहरीले सिको गर्नुपर्ने धारणा समेत सो अवसरमा राखे ।

यातायात व्यवस्था ऐनको प्रावधानअनुसार घिमिरेलाई ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस