हृवीप लगाएर (एमसीसी) पारित गर्न कस्सिए नेकपा र काँग्रेस

पत्रपत्रिकाबाट

बुधबार, ०८ माघ २०७६, ०७ : ०६
हृवीप लगाएर (एमसीसी) पारित गर्न कस्सिए नेकपा र काँग्रेस

काठमाडौँ । नेकपा र कांग्रेसका नेताहरुले एमसीसी संसदबाट पारित गरिने बताएका छन् । हृवीप लगाएर भए पनि प्रतिनिधिसभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित हुने उनीहरुले बताएका हुन् । 

काठमाडौंमा भएको एक साक्षत्कार कार्यक्रममा नेकपमा स्थायीसमिति सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई अघि बढाउन चाहेकोले पनि यो पारित हुने बताए। प्रतिपक्षी दल पनि पारित गर्नुपर्ने पक्षमा रहेको र प्रधानमन्त्रीको चाहना पनि पारित हुनुपर्छ भन्ने भएपछि संसदमा हृवीप गरेर भए पनि एमसीसी पारित हुने पौडेलले बताए।

उनले भने, ‘एमसीसी सदनबाट पास हुन्छ। प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ। तर केही बुँदाहरु हेरफेर हुनुपर्छ।’एमसीसी नेपालमा लागु भएपछि गरिबी निवारण हुन्छ भन्ने नभएको तर ५५ अर्ब रुपैयाँ अनुदान गुम्न नदिने पक्षमा आफू रहेको उनको भनाई छ। अनुदान निसर्त हुने भएका परियोजनामा भएका सर्तहरु खारेज हुनुपर्ने माग रहेको उनले बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सत्तापक्षले एमसीसी पास गर्नुपर्ने बताए। प्रावधानमा भएका कमीकमजोरीहरुका विषयमा छलफल गर्न सकिने भन्दै उनले बोल्दा अध्ययन र अनुसन्धान गरेर बोल्न पनि सुझाव दिए ।

उनले भने, ‘यो कम्प्याक्टमा भएका प्रावधानमा केही कमीकमजोरी भए यसबारेमा छलफल गर्न सकिन्छ। हिजो अरुण तेस्रो परियोजना बनाउनुपर्छ भन्दा तत्कालिन नेकपा एमालेले विरोध गर्‍यो। त्यो त्यतिकै कोल्याप्स भयो। त्यो लागु भएको भए धेरै राम्रो हुन्थ्यो।’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताहरुलाई छलकपटको राजनीतिक नगर्न सुझाव दिए। कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस