सूचना प्रविधि विधेयकविरुद्ध कांग्रेसको विरोधपत्र

पत्रपत्रिकाबाट

सोमबार, ०६ माघ २०७६, ०७ : २७
सूचना प्रविधि विधेयकविरुद्ध कांग्रेसको विरोधपत्र

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरले सूचना प्रविधि विधेयकको विरोध गर्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ। भक्तपुर कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाद्वारा हस्ताक्षरित विरोध पत्र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई पठाइएको हो।

भक्तपुर कांग्रेसले आइतबार विरोध प्रदर्शन गर्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई विरोध पत्र बुझाएको छ। विरोधपत्रमा ओली सरकार अधिनायकवादी बाटोतर्फ अग्रसर रहेको औंल्याइएको छ।

विधेयकले संविधान प्रदत्त नागरिक अधिकार अपहरण गर्न लागेकोप्रति नेपाली कांग्रेसका ध्यानाकर्षण भएको उल्लेख गरिएको विरोधपत्रमा भनिएको छ, ‘विधेयकमा समावेश गरिएको फोन ट्यापिङ गर्न सक्ने, सामाजिक सञ्जालमा कसैलाई व्यंग्य गरेवापत पाँच वर्ष जेल र १५ लाख जरिवाना तिर्नुपर्ने जस्ता प्रावधानले व्यक्तिगत गोपनीयताको संवैधानिक अधिकार हनन हुने र आलोचना एवं व्यंग्य गर्न पाउने नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हत्या हुने निश्चित छ।’

नागरिकको अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत गोपनीयताको अधिकार लोकतन्त्रको आत्मा हुने भन्दै भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले संविधानले प्रदान गरेको नागरिक अधिकार कुण्ठित गर्ने विधेयक अविलम्ब फिर्ता गर्न जोडदार माग गरेका छन्। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस