को हुन् अग्निप्रसाद सापकोटा ?

सफल खबर संवाददाता

आइतबार, ०५ माघ २०७६, १७ : ०८
को हुन् अग्निप्रसाद सापकोटा ?

काठमाडौँ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अग्नि सापकोटालाई सभामुखको उमेदवार बनाउन सहमत भएका छन् । माघ ६ गतेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ । 

संसद्को सो बैठकको सम्भावित कार्यसूचीमा सभामुख चयनको विषय पनि छ । सत्तारुढ दल नेकपाले सभामुखको विषय टुंगो नलगाउँदा ३ पटक संसद बैठक सूचना टाँसेर स्थगन भइसकेको छ । संसदको अंकगणित नेकपाको बलियो रहेकाले उसले अघि सार्ने उमेदवारको पल्ला भारी हुने छ ।  

शिक्षकदेखि मन्त्रीसम्म 

सिन्धुपाल्चोक जिल्लाको कुभिन्डेमा विसं २००१ फागुन २४ गतेका दिन बुबा धनपति र आमा तीलमाया सापकोटाको कोखबाट जन्मिएका अग्निप्रसाद सापकोटा नेपाली राजनैतिक वृत्तका चर्चित व्यक्ति हुन् । 
जिल्लाको कम्युनिष्ट राजनीतिमा महत्वपूर्ण भूमिका खेलेका सापकोटाले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

राजनीतिमा प्रवेश गर्नुअघि उनी शिक्षण पेसामा आवद्ध थिए । समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका सापकोटाले १६ वर्षसम्म शिक्षण पेशा गरेका हुन् । 

साँगाचोक स्थित जनजागृति माविका पूर्व प्रधानाध्यापक सापकोटाले शिक्षण पेशा छोडेर पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेका थिए । २०४८ सालमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि उनी पराजित भएका थिए ।

२०३० सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका सापकोटा २०५१ सालदेखि नेकपाको केन्द्रीय सदस्य हुन् । द्वन्द्वकालमा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा सापकोटा वार्ता टोलीका सदस्य समेत बनाइएका थिए । दोस्रो संविधानसभा चुनावमा सापकोटा सिन्धुपाल्चोक २ बाट निवार्चित भएर आफ्ना प्रतिस्पर्धीलाई धेरै मतान्तरले जित्ने १० जना सभासद मध्येका एक हुन् । 

नेपाली राजनीतिमा स्पष्ट वक्ताको रुपमा पनि सापकोटालाई लिने गरिन्छ । सापकोटाकी श्रीमती तारादेवी पनि माओवादीको क्षेत्रीय सदस्य हुन् । ४२ वर्षदेखि राजनीतिमा सक्रिय सापकोटा विगतमा सूचना तथा सञ्चारमन्त्री हुँदै तत्कालीन एकीकृत नेकपा माओवादीको प्रवक्ता पनि भए । 

प्रतिक्रिया दिनुहोस