रियल म्याड्रिड शीर्ष स्थानमा

सफल खबर संवाददाता

आइतबार, ०५ माघ २०७६, ०८ : १६
रियल म्याड्रिड शीर्ष स्थानमा

file photo

एजेन्सी । स्पेनिस जाइन्ट किलर रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले सेभिल्लालाई २–१ गोलले हरायो । रियलको जितमा दुवै गोल ब्राजिलियन स्टार क्यासमिरोले गरे ।

सेभिल्लाका लागि लुक डे जोङले एक गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । क्यासमिरोले ५७औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए । उनले लुका जोभिकको ब्याक हिल पासमा गोल गरेका थिए । त्यसपछि ६४औं मिनेटमा सेभिल्लाले बराबरी गोल फर्कायो ।

लुक डे जोङले मुनिर एल हाद्धादीको पासमा बराबरी गोल गरेका थिए । ६९औं मिनेटमा क्यासमिरोले ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई पुनः अगाडी बढाए । उनले लुकास भाजक्वीजको पासमा हेड गोल गरेका थिए । त्यसपछि दुवै टोलीले अवसर बनाएपनि थप गोल गर्न नसक्दा रियल विजयी भयो ।

जितसँगै रियाल म्याड्रिडले २० खेलबाट ४३ अंक बनाएको छ । रियल दोस्रो स्थानमा रहेको बार्सिलोना भन्दा तीन अंकले अगाडी छ । एक खेल कम खेलेको बार्सिलोनाको ४० अंक छ । बार्सिलोनाले आइतबार (आज) राति ग्रानाडासँग खेल्नेछ । बार्सिलोनालाई शीर्ष स्थान कब्जा गर्न ग्रानाडालाई हराउनै पर्ने बाध्यता छ । रियलसँग हारेको सेभिल्ला ३५ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस