१७ वर्षमै चमत्कारी काम, जसले स्कुले जीवनमा पत्ता लगाए विशेष ग्रह

एजेन्सी

शुक्रबार, ०३ माघ २०७६, ११ : २२
१७ वर्षमै चमत्कारी काम, जसले स्कुले जीवनमा पत्ता लगाए विशेष ग्रह

काठमाडौँ । अमेरिकाका १७ वर्षीय वुल्फ ककियरले विशेष ग्रह पत्ता लगाएका छन् । जसका कारण भर्खरै हाइस्कुल पढ्दै गरेका वुल्फ यतिबेला चर्चाको शिखरमा छन् । 

वुल्फ न्युयोर्क, स्कार्सडेलस्थित स्कुल अफ स्कार्सडेल पढ्छन्। गत वर्ष जुलाइमा आफ्नो गर्मी बिदा पारेर नासामा उनी इन्टर्नसिप गरिरहेका थिए। गएको तेस्रो दिनमै उनले नयाँ ग्रह पत्ता लगाए। नासाले विज्ञप्तिमार्फत् पुष्टि गरेको हो।

‘म दुइटा ताराको वरपर घुम्ने एउटा विशेष ग्रह खोज्दै थिएँ’ वुल्फले भनेका छन्। त्यही बेला उनले केही अनौठो चिज देखे। उनले देखेको त्यो अनौठो वस्तु त्यही ग्रह थियो, जुन कुरा बिबिसीले लेखेको छ । 

बिबिसीका अनुसार वुल्फको खोज रोचक थियो। यसको अध्ययनमा अरू वैज्ञानिकहरू समेत सामेल भए। लामो अध्ययन र विश्लेषणपछि उनीहरू यकिन भए यो ग्रह दुई तारा वरपर घुम्छ। पृथ्वीभन्दा करिब सात गुणा ठूलो यो ग्रह पृथ्वीबाट १३ सय प्रकाश वर्ष टाढा छ।

उनीहरूले यसको नाम पनि राखे, टिओआइ १३३८ बी। नाम अप्ठ्यारो भए पनि यसमा नासाका वैज्ञानिकहरूले आफूसँग कुनै सुझाव नमागेको वुल्फले बताएका छन्।

टिओआइ १३३८ बी अरू सामान्य ग्रहभन्दा फरक छ। पिक्टर मण्डलमा फेला परेको दुई तारा वरपर घुम्ने यो पहिलो ग्रह हो।

‘अहिले पत्ता लागेको ग्रह ट्याटुइन जस्तै छ नि, उनले उत्साहित हुँदै सुनाए, त्यो ग्रहमा दुइटा सूर्यास्त हुन्छ’ वुल्फले भनेका छन्, बिबिसीमा भनिएको छ । 

वुल्फ आफ्ना लागि पनि यो खोज एकदमै रोचक र महत्वपूर्ण भएको बताउँछन्। इन्टर्नसिप गर्न गएका उनले यति ठूलो खोज गरेपछि उनी निकै उत्साहित छन्। आफ्नो काम देखेर नासा पनि प्रभावित भएको उनको भनाइ छ।

‘चार दिनयता म बधाइ खाएको खायै छु। जीन्दगीमै मैले यति बधाइ पाएको थिइनँ होला। सबै जना एकदमै उत्साहित छन्। यो वास्तवमै अलौकिक अनुभव भयो’ उनले दंग पर्दै सुनाउँछन् अन्तर्राष्ट्रिय समाचार स्रोतहरुले लेखेका छन् । 


 

प्रतिक्रिया दिनुहोस