'रुखो' अर्थमन्त्रीको 'नरमपथ'

पत्रपत्रिकाबाट

शुक्रबार, ०३ माघ २०७६, ०७ : ४८
'रुखो' अर्थमन्त्रीको 'नरमपथ'

काठमाडौं । विगतमा उद्योगी एवं व्यवसायीप्रति रुखो व्यवहार देखाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाको कार्यशैली र अभिव्यक्ति पछिल्लो समय नाटकीय रूपमा फेरिएको छ।

नेपाल राष्ट्रबैंकको गभर्नर छँदा र अर्थमन्त्री भएपछि पनि उद्योगी, व्यवसायीलाई पहुँच नै नदिएका खतिवडाले एक–डेढ महिनायता भने सबैसँग नरम र भद्र व्यवहारसँगै त्यसैअनुसार भाषण गरिरहेका छन्। निजी क्षेत्रका संघसंस्था तथा सरकारी संस्थानहरूमा जाँदा उनी समस्या समाधान गर्ने सहयोगीका रूपमा प्रस्तुत भइरहेका छन्।

नेपाल चेम्बर अर्फ कमर्सको यही साता भएको ७०औं वार्षिकोत्सवमा खतिवडाले भने, ‘सरकार धरपकडमा जाँदैन, विगतमा केही गल्ती भएकै हुन्। अब यो गर्नुहुँदैन भनेर मैले सार्वजनिक रूपमा भनेकै हुँ। व्यवसायीलाई निरुत्साहित गरेर सुशासन कायम गर्न नसकिने रहेछ। स्वेच्छाले राज्यको कानुन पालना गराउनु नै लोकतान्त्रिक सरकारको पहिलो प्राथमिकता हो।’

निजी क्षेत्रसँग मात्र होइन, विगतमा सेयर बजारविरुद्ध चर्को स्वरमा बोल्ने खतिवडा मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यक्रममा नरम रूपमा प्रस्तुत मात्र भएनन्, सेयर बजारमा समस्या भए आफू समाधान गर्न तयार भएको समेत बताए। उनले करसम्बन्धी समस्या भए आगामी बजेटबाट समाधान गर्ने आश्वासन दिँदै पुँजी बजारको विकासमा थुप्रै काम भइसकेको र अरू थप काम पनि प्रक्रियामा रहेको जानकारी दिए।

‘खतिवडाको भाषणले पहिलेका अर्थमन्त्री यिनै हुन् र भन्ने पो बनायो,’ एक्सचेन्जका एक अधिकारीले भने, ‘सेयर बजारको विरोधीका रूपमा देखिएका खतिवडा आज हितैषीका रूपमा प्रस्तुत भए।’ यी तिनै खतिवडा हुन् जसले गत वर्ष लगानीकर्तालाई भेट दिन अस्वीकार गर्दै उनीहरूलाई अर्थ मन्त्रालयको ढोकाबाटै फर्काएका थिए। यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस