बाथरुममा ग्यास गिजरले लियो ज्यान, यसरी अपनाऔँ सतर्कता

सफल खबर संवाददाता

मंगलबार, २९ पुस २०७६, १६ : ०४
बाथरुममा ग्यास गिजरले लियो ज्यान, यसरी अपनाऔँ सतर्कता

काठमाडौँ । नुहाउने क्रममा ग्यास गिजरले मृत्यु भएको घटना अब नौलो रहेन । ग्यास गिजरकै कारण घाइते र बहोस् हुने अवस्थाको त कुरै नगरौँ । काठमाडौंको मिलनचोकमा नुहाउन ग्यास गिजर भएको बाथरुममा छिरेकी स्वशिका लिम्बू बाथरुमभित्रै बेहोस् भएपछि अस्पतालमा लाँदालाँदै उनको मृत्यु भयो । 

झापाकी २० वर्षिया लिम्बू मिलनचोकको रुमिज गर्ल्स होस्टेलमा बस्थिन्। तेस्रो तलामा रहेको बाथरुममा नुहाउन छिरेकी उनलाई धेरै बेरसम्म पनि ननिस्केपछि भेन्टिलेसन फोरेर निकालिएको थियो ।  यस्तै, वीरगन्ज घर भएकी १९ वर्षीया जेनिथ चौहानको पनि ग्यास गिजर भएको बाथरुममा निसास्सिएर मृत्यु भयो । उनी पनि ललितपुरको सुरिवा गर्ल्स होस्टलमा बस्थिन्।

दुबैको मृत्युको मुख्य कारण ग्यास गिजर नै बन्यो । चिकित्सकका अनुसार भेन्टिलेसन भएको बाथरुममा ग्यास गिजर भएदेखि निस्सिासिएर बेहोस् हुने अनि मृत्यु हुने अवस्था आउने नै थिएन ।  फिजिसियन डाक्टर निमेश पौडेल मृत्युमा ग्यास गिजरको दोष देख्दैनन् । उनी बाथरूममा राखिने भेन्टिलेसनलाई प्रमुख कारण देख्छन् । 

‘बाथरुम छिर्दा झ्याल ढोका लगाउँछौं, अनि ग्यास गिजर चलाउछौं,’ उनले भने,  ‘त्यसपछि ग्यास गिजरबाट निस्कने कार्वन मोनोअक्साइडको मात्रा शरीरमा बढ्दै जान्छ, अक्सिजन कमी हुन्छ र मानिस बेहोस हुन्छन्।’

उनका अनुुसार बेहोस बिरामीलाई तत्कालै खुल्ला ठाउँमा वा पर्याप्त अक्सिजन भएको ठाउँमा लैजान सके बचाउन सकिन्छ।  ‘सुरूमा टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ। त्यसलाई ख्याल नगर्दा पछि दिमागले काम गर्न छोड्छ। कहाँ छु भन्ने थाहा हुन छोड्छ र, मानिस बेहोस हुन्छ,’ उनी भन्छन्।

यस्तै, टेकु अस्पतालका फिजिसियन डा शेरबहादुर पुन अक्सिजन पर्याप्त नभएर नै गिजर भएको बाथरुममा नुहाउँदा बेहोस् हुने बताए । उनले भने, ‘गिजरको दोष छैन, अक्सिजन पर्याप्त नभएर हो ।’  उनी ग्यास गिजर किन्दा, जोड्दा यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी नदिँदा जोखिम अझै बढेको बताउँछन्। डा पौडेल गिजर अन गरेर लामो समयसम्म बाथरुममा नबस्न सुझाव दिन्छन्। गिजर भएको बाथरुमा छिटो नुहाउनुपर्छ, नुहाँदा गिजर खोल्ने र बन्द गर्नुपर्छ । 
 

यसरी अपनाऔँ सतर्कता 
जाडो महिनामा गिजर सबैका लागि सहज, सुलभ र सस्तो भएका कारणले धेरैजसो मानिसहरूको घरको बाथरूममा पानी तताउनका लागि गिजर नै प्रयोग गरेको पाइन्छ । तर, गिजरको प्रयोग सही तरीकाले गर्न नजान्दा धेरैको ज्यान जोखिममा पर्ने गरेको चिकित्सकहरूको भनाइ छ । 

गिजर प्रयोग गर्दा मानिसले राम्रोसँग सावधानी अपनाउन नसकेको खण्डमा ज्यान जानेसमेत समस्या आउने गर्छ । साधारणतया गिजरले उत्पादन गर्ने भनेको हानीकारक कार्बोन मोनोअक्साइड र नाइट्रोअक्साइड ग्यास हो । त्यही ग्यासबाट आउने फ्युल्सहरू टक्सिक हुन्छ जसले गर्दा मानिसको ज्यान पनि जान सक्छ ।

नेपालमा बाथरुम सानो वा साँघुरो ठाउँमा हुने गर्छ । त्यसमा पनि मानिसहरू नुहाउने समयमा भेन्टिलेसन बन्द गरेर नुहाउने गर्छन् । यसरी नुहाउँदा गिजरबाट उत्पादन भइरहेको कार्बोन डाइअक्साइड ग्यासको टक्सिक एकदमै चाँडो बढ्छ र ग्यासको मात्रा धेरै भएर नुहाउँदा नुहाउँदै मानिसहरूलाई चक्कर लाग्ने तथा बेहोस हुने हुन्छ ।

यस्तो बेलामा ढोका खोलेर बाहिर निस्कन सक्दैनन् । र यस्ता ग्यासले ३ देखि ५ मिनेटको भित्रनै मानिसको ज्यान लिन सक्छ ।  सबैभन्दा पहिला नुहाउने ठाउँ राम्रो भेन्टिलेटर भएको हुनुपर्छ र जतिसुकै बेलामा गिजरको प्रयोग भइरहेको छ भने भेन्टिलेटर खोल्नु आवश्यक हुन्छ । भेन्टिलेटरबाट सजिलैसँग हावा प्रवाह हुने हुँदा गिजरको हानीकारक ग्यास बाहिर निस्किन्छ र मानिस निसासिन पाउँदैन ।

प्रतिक्रिया दिनुहोस