फिल्म 'छपाक' दिल्लीमा प्रदर्शन गर्न रोक

एजेन्सी

आइतबार, २७ पुस २०७६, १७ : ४५
फिल्म 'छपाक' दिल्लीमा प्रदर्शन गर्न रोक

दिल्ली । अभिनेत्री दीपिका पादुकोणको शुक्रबार रिलिज फिल्म 'छपाक' दिल्लीमा प्रदर्शन गर्न रोक लगाइएको छ । केही समयअघि हालिएको एक उजुरीमा फैसला सुनाउँदै दिल्ली उच्च न्यायालयले फिल्म रिलिज भएको दुई दिनपछि प्रदर्शनमा रोक लगाएको हो ।

आदेशअनुसार फिल्म १५ जनवरीबाट मल्टिप्लेक्स, अनलाइन प्लेटफर्म र १७ जनवरीदेखि कुनै पनि ठाउँमा प्रदर्शन हुने छैन । अधिवक्ता अपर्णा भट्टलाई फिल्ममा 'क्रेडिट' नदिएको भन्दै दिल्ली न्यायालयले प्रदर्शनमा रोक लगाउन आदेश दिएको हो । अपर्णा भट्ट तेजाब हमलाकी पीडित लक्ष्मी अग्रवालकी अधिवक्ता हुन् । फिल्म 'छपाक' लक्ष्मी र अन्य तेजाब पीडित महिलाहरूको जीवनबाट प्रेरित छ ।

यसअघि पटियाला अदालतले पनि निर्मातालाई 'अधिवक्ता अपर्णालाई क्रेडिट दिनू' भनेको थियो । दिल्लीको पटियाला अदालतले निर्माण कम्पनीलाई फिल्ममा 'अपर्णा भट्ट महिलाहरूमाथि भइरहेको शारीरिक र यौन अपराधका विरूद्ध लडिरेहकी छन्' भन्ने पंक्ति राख्न आदेश दिएको थियो ।

फिल्म निर्माण कम्पनी फक्स स्टुडियोले यो निर्णय उल्टाउन उच्च अदालतमा निवेदन दिएको थियो । सुनवाइ बेला निर्माता टोलीले फिल्ममा अपर्णा भट्टलाई श्रेय दिनुपर्ने गरी उनको कुनै कानुनी अधिकार नभएको बताए पनि दिल्ली न्यायालयले पुरानै फैसला सुरक्षित राख्दै निर्देशक मेघना गुलजार र टिमलाई अपर्णालाई क्रेडिट दिने आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस