नेपालको मौसमी गतिविधिको पूर्वसूचनाका लागि भारत र चीनको भर

पत्रपत्रिकाबाट

विहीबार, २४ पुस २०७६, ०८ : ०५
नेपालको मौसमी गतिविधिको पूर्वसूचनाका लागि भारत र चीनको भर

काठमाडौं ।  नेपालमा हुने मौसमी गतिविधिको पूर्वसूचनाका लागि भारत र चीनको भर पर्नुपरेको छ । सानो भूभागमा रहेको नेपालमा भारतको तुलनामा चीनको पूर्वसूचना महत्त्वपूर्ण हुने भएकाले सरकारले चीनसँग मौसमी पूर्वसूचना जानकारी गराउन माग गरेको छ ।

 भारतसँग मौसमी जानकारी गराउने संयन्त्र विकास भए पनि चीनको तिब्बत सरकारबाट नेपालले भने सूचना पाउने गरेको छैन । यद्यपि, नेपालले भारतलाई सूचना दिने गरे पनि भारतीय भूमिबाट उत्पन्न भई नेपाली भूमिबाट बग्ने एक मात्र नदी जोगबुढा नदीको पूर्वसूचना भारतले नेपाललाई दिने गरेको छैन । यसकारण, कञ्चनपुरको महाकाली नगरपालिकाका १ सय ३९ घरपरिवार जोगबूढा नदीको जोखिममा जीवन गुजारा गरिरहेका छन् ।

यस्तै, नेपालका अधिकांश नदी चीनको तिब्बतमा उत्पन्न भई नेपाली भूमि हुँदै बग्ने गरेका छन् । तिब्बती क्षेत्रमा हुने मौसमी जानकारी नहुँदा नेपालमा ठूलो मात्रामा बाढी पहिरोबाट नोक्सान हुने गरेको छ । भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीका कारण क्षति बेहोर्नुपरिरहेको छ ।

चीनसँगको मौसमी सूचना आदानप्रदान गर्ने कुनै समझदारी नहुँदा नेपालले बाढी पहिरोका कारण जोखिम भोग्दै आएको छ । नेपालको १५ सय किलोमिटर उत्तरी सिमाना चीनसँग जोडिएकाले चीनमा विपत्ति आउँदा त्यसको असर नेपालमा पर्ने भएकाले पूर्वसूचना दिन नेपालले माग गरेको छ । राजधानी दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस