पलायन मार्गमा आर्यन

बुधबार, २३ पुस २०७६, १४ : ३६
पलायन मार्गमा आर्यन

काठमाडौं । आर्यन सिग्देल केही समययता अस्ट्रेलियामा छन्। ‘चच हुई’ रिलिजलगत्तै विदेश हानिएका उनी त्यहाँ न नयाँ फिल्मको सुटिङका लागि गएका हुन्, न कुनै पुरानो फिल्मको सोका लागि। सामाजिक सञ्जालमा उनको दैनिकी हेर्दा लाग्छ, आर्यन विशुद्ध घुमघामका लागि गएका हुन्। तर, उनी निकट स्रोत भन्छ, आर्यन घुम्नका लागि होइन, व्यापारका लागि अस्ट्रेलिया गएका हुन्। 

अभिनय गरेका कुनै पनि फिल्म नचलेपछि उनी वैकल्पिक पेशाको खोजीमा छन्। देशमै त्यो पेशा गर्दा अनावश्यक हल्लाखल्ला हुने भएपछि उनी अस्ट्रेलियामा स्टोर खोलेर श्रीमती र छोरासहित सेटल हुने दाउमा छन्। आर्यनको अहिलेको भ्रमण यही उद्देश्यका लागि हो। 

आर्यन जल्दोबल्दो स्टारडम गुमाउने कलाकारको उदाहरण बनेका छन्। उनका फिल्मबाट दर्शकले आश राख्न छाडेको लामै समय भइसक्यो। यदि बजारहल्ला सत्य हो भने आर्यन स्वयंले पनि अब चाहिँ फिल्मको आश छाडेका छन्। उनको पुस्ताका जीवन लुइँटेल, राजवल्लभ कोइराला, सुमन सिंह उहिल्यै पलायन भइसके। सायद अब आर्यनको पालो ! - सम्पूर्ण साप्ताहिबाट

प्रतिक्रिया दिनुहोस