कार्यरत बैंकबाट नै अनुचित लाभ लिने शाखा प्रबन्धक प्रहरी हिरासतमा

सफल खबर संवाददाता

शुक्रबार, १८ पुस २०७६, १० : २७
कार्यरत बैंकबाट नै अनुचित लाभ लिने शाखा प्रबन्धक प्रहरी हिरासतमा

काठमाडौँ । बैंकका शाखा प्रबन्धक आफु कार्यरत बैंकलाई हानी हुने गरी अनुचित लाभमा सक्रिय हुने गरेको तथ्य बाहिर आएको छ ।

यसअघि पनि बैंकिङ चोरी तथा अन्य विभिन्न अपराधमा कर्मचारीहरु संलग्न भएको घटना सार्वजनिक नभएको होइन । तर यसपटक भने बैंकका शाखा प्रबन्धक नै बैंक ठगीमा मुछिएको तथ्य खुलासा भएको छ । उक्त घटनाले जति नै ढिला भएपनि अपराध लुक्दैन भन्ने तथ्य समेत प्रमाणित गरेको छ ।

तत्कालिन नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखामा प्रबन्धक सोलुखुम्बु घर भइ हाल भक्तपुर बस्दै आएका भुपराज कोईराला त्यस्तै मुद्दामा अहिले प्रहरीको हिरासतमा छन् । उनीमाथि आफु शाखा प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सृजना गराई अनुचित लाभ लिई बैकिङ कसुर गरेको आरोप छ ।

उनी विरुद्ध बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान थालिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सफलखबरलाई जानकारी दिए । उनीमाथि बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम कारवाही थालिएको छ ।