काठमाडौं । जापान रोजगारीका लागि लिइने परीक्षार्थीको संख्या बढ्ने भएको छ। जापान रोजगारीमा इच्छुक संख्याको तुलनामा निकै कमले मात्र भाषा र सीप परीक्षामा सहभागी हुन पाइरहेको बेला जापान फाउन्डेसनले आउँदो मार्चदेखि परीक्षामा सहभागी हुनेको संख्या बढाउन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
‘मार्च महिनादेखि हुने भाषा र सीप परीक्षामा एक हजार तीन सयले प्रतिस्पर्धा गर्न पाउने भएका छन्,’ मन्त्रालयका उपसचिव दीपक ढकालले भने, ‘त्यसपछि केही युवायुवती रोजगारीका लागि जापान जान पाउने अपेक्षा गरिएको छ।’ अघिल्लो वर्ष जापान सरकारले नेपाललाई कामदार आपूर्ति गर्ने स्रोत मुलुकको सूचीमा राखेपछि ठूलो संख्याका युवायुवतीले जापान जान पाउने आसमा भाषा र सीप सिकेका छन्। तर अहिलेसम्म एकजना पनि जापान जान पाएका छैनन्।
फाउन्डेसनले पहिलोपटक अक्टोबरमा एक हजार युवायुवतीको भाषा र सीप परीक्षा लिए पनि एकजना पनि उत्तीर्ण हुन सकेका थिएनन्। ‘एउटा पनि परीक्षार्थी सफल नहुनको कारण निकै थोरैले प्रतिस्पर्धा गर्न पाएकाले हो कि भन्ने मन्त्रालयको अनुमान छ,’ ढकालले भने, ‘यस्तो समस्या समाधानका लागि परीक्षार्थीको कोटा वृद्धि गर्न जरूरी थियो।
अब वृद्धि गरिएको कोटाले केही सहयोग पुग्ला कि !’ पहिलो चरणको भाषा र सीप परीक्षामा सहभागी हुन १३ हजारले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये फाउन्डेसनले गोलाप्रथाबाट एक हजारलाई मात्र भाषा र सीप परीक्षामा सहभागी गराएको थियो। मन्त्रालयले आवेदन दिएका सबैलाई भाषा र सीप परीक्षामा सहभागी गराउन आग्रह गरे पनि फाउन्डेसनले ठूलो संख्यालाई परीक्षा लिन नसकिने भन्दै गोलाप्रथाबाट एक हजारलाई मात्र छनोट गरेको थियो।नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १८ पुस २०७६, ०८ : ५३
लेखकबाट थप