४ सय ८५ क्विन्टल चामल खाद्यमा कुहियो

पत्रपत्रिकाबाट

सोमबार, १४ पुस २०७६, ०८ : ४३
४ सय ८५ क्विन्टल चामल खाद्यमा कुहियो

काठमाडौं। कुनै बोरामा ३० केजी लेखिएको छ, काटेर कलमले २५ केजी बनाइएको छ, मुसाले खाएकाले बोराको तौल पनि घटाइएको अधिकारीहरूको जबाफ कर्णालीलगायत दुर्गम जिल्लाका बासिन्दा बर्सेनि चामलको अभाव झेलिरहेका छन् । तर, विदेशबाट अनुदानमा आएको चामलसमेत सरकारी गोदाममा वर्षौँ थन्किएर सडेको छ ।

संसदीय समितिको अनुगमनका क्रममा थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा पाँच वर्षअघि जापान सरकारले दिएको चार सय ८५ क्विन्टल चामल कुहिएको अवस्थामा भेटिएको छ ।  नयाँ पत्रिकाले यो समाचार छापेको छ । 

संसद्को उद्योग तथा वाणिज्य र उपभोक्ता हित समितिले खाद्यवस्तु अनुगमन गर्न गठन गरेको उपसमितिले आइतबार अनुगमन गरेको थियो । त्यसक्रममा तीनवटा गोदाममा कुहिएको चामल मात्रै भेटियो । ‘खाद्य संस्थानले आफैँ व्यवस्था गरेर चामल वितरण गर्नुको सट्टा जापानले अनुदानमा दिएको चामलसमेत वर्षौँ गोदाममा थन्क्याएर कुहाएको भेटियो, यो त अति नै भयो,’ अनुगमनपछि उपसमितिका संयोजक नरबहादुर धामीले भने । गोदाममा चामलसँगै दाल, स्वायबिनलगायत अन्य खाद्यवस्तुसमेत कुहिएका छन् ।

प्रतिक्रिया दिनुहोस