काठमाडौँ । नेपालमा पहिलोपटक एड्भेन्चर टुरिजम स्टडिज (म्याट्स) विषयको स्नात्तकोत्तर तहको पढाइ हुने भएको छ । नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीले यो कोर्स ल्याएको हो । स्नातक तहमा जुनैसुकै विषयमा पढेका विद्यार्थीहरुले यसमा भर्ना पाउनेछन् ।
कम्तिमा सेकेन्ड डिभिजन वा सिजिपिए २ ल्याएका विद्यार्थीहरुले भर्ना पाउनेछन् । एमबीए सरहको यो कोर्षमा ४ समेस्टर रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त यो विषय नेपालमा पहिलोपटक सुरु हुन लागेको हो । एकेडेमीका सुचना अधिकारी उत्तम भट्टराईले यस विषयले विभिन्न एड्भेन्चर टुरिजमका विधामा पढाउने र माउन्टेन म्यानजेमेन्ट बढी प्राथमिकतामा रहेको बताए ।३ वर्षअघि एकेडेमीले बिजनेस इन माउन्टेनियरिङ स्टडिज (बिएमएस) को कक्षा चलाउन थालेको थियो । अहिले तेस्रो ब्याच सञ्चालनमा रहेको छ ।
यस विषयमा विद्यार्थीको आकर्षण र देशबाहिर पनि यसको शैक्षिक रुपले चर्चा भएपछि मास्टर्स सुरु गरिएको उत्तम बताउँछन् ।‘माउन्टेन टुरिजम बाउबाजेको पुस्तैनी पेसाजस्तै भएको छ । तर, यही विषय पढेरै आएका भेटिएनन् । त्यसैले व्यवस्थित ढंगले अघि बढाउनका लागि यो कोर्स सुरु गरिएको हो,’ उत्तमले बताए । ३० सिटका लागि भर्ना मिति पुस २० गतेसम्म छ । एड्भेन्चर टुरिजम म्यानेजर, टुरिजम इनोभेटर, रिर्सचर, माउन्टेन टुरिजम म्यानेजर आदि जनशक्ति यो विषयले उत्पादन गर्ने संचालकले बताएका छन् ।
यो विषय प्राक्टिकल विषय भएकाले प्याराग्लाइडिङ, र्याफटिङ, हिमाल चढ्ने, रक क्लाइम्बिङ आदि विद्यार्थीहरुले सिक्न पाउने बताइएको छ । सुचना अधिकारी उत्तम भन्छन्, ‘२०७३ देखि नै यसका लागि गृहकार्य गरेर नेपालका प्राध्यापक, विदेशीहरुसँग छलफल गरेर पाठ्यक्रम बनाइएको हो । पर्यटन प्रबर्द्धन गर्ने आइडिया उत्पादित जनशक्तिले दिनेछन् ।’
एकेडेमीमा माउन्टेनियरिङको टेक्निकल विषय पढाउने इन्टरनेसल टुरिस्ट गाइड छिरिङ जाम्बु शेर्पा भन्छन्, ‘हिमाल चढ्न जाँदा टेन्ट कसरी लगाउने, कसरी चढ्नेदेखि लिएर चोटपटक लागे कसरी उपचार गर्ने आदि कुरा सिकाउँछौं । यस विषयमा वद्यार्थीहरुले व्यवहारिक कुरा सिक्न पाउँछन् ।’ यस विषयमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको र ११८ जनाले अनलाइन फर्म भरिसकेको एकेडेमीले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १० पुस २०७६, ०७ : ०२
लेखकबाट थप