काठमाडौं। सरकारले संविधान संशोधन गर्न तयार नभएको भन्दै संघीय समाजवादी पार्टी सरकारबाट हटेको छ। संविधान संशोधनको प्रक्रिया अघि नबढेको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपट भएको भन्दै समाजवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
सरकारमा सहभागी उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले मंगलबार मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएका छन्। समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले संविधान संशोधनको मुद्दालाई निरन्तररूपमा उठाउँदै जनताको बीचमा जाने बताए। उनले भने– ‘संविधान संशोधन हुन्छ भनेर पर्खेर बस्यौं, हाम्रो पार्टीले राखेको संविधान संशोधन गर्न विज्ञ समूह बनाउनुपर्ने प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गर्नुभो, राज्यको पुनर्संरचना, शासकीय स्वरूप र नागरिकतालगायतको विषयमा हाम्रो असहमति छ, ठोस एजेन्डा बनाएर पार्टीको धारणा सार्वजनिक गर्छाैं।’
तत्कालीन नयाँ शक्ति र समाजवादी फोरम पार्टीबीच एकीकरण भएर बनेको समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले शुरूदेखि नै संविधान संशोधन नभएकाले सरकारबाट पार्टी बाहिरिनुपर्ने अडान लिँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०९ पुस २०७६, ०७ : ४३
लेखकबाट थप