तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागार परिसरमा निर्माण गरिएको बन्दीगृह बजेट अभावका कारण हस्तान्तरणमा ढिलाइ भएको छ । उक्त भवनको जिम्मा ऋषि शक्ति बिल्र्डस एण्ड इञ्जिनीर्यस प्रालि डुम्रेले सम्झौताअनुरुप मङ्सिर १५ गते निर्माण सम्पन्न गरे पनि भुक्तानी हुन नसकेका कारण भवन हस्तान्तरण गर्न नसकिएको हो ।
हस्तान्तरण नहुँदा ३५ क्षमताको कारागारमा हाल १४८ जना कैदीबन्दी बस्न बाध्य रहेका छन् । उनीहरुलाई सुत्न र शौचालय जान समस्या भएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उक्त भवनको कारागार व्यवस्था विभागबाट समेत अनुगमन भइसकेको छ । उहाँले भन्नुभयो, “भुक्तानी प्रक्रिया लम्बिएका कारण बन्दीगृह सञ्चालनमा ढिलाइ भएको हो ।” कार्यालय भवन, सुरक्षा ब्यारेक र महिला बन्दीगृह गरी तीन भवन मूल्य अभिवृद्धि कर बाहेक रु छ करोड ४४ लाख लागतमा निर्माण गरिएको हो ।
असी जना क्षमताको उक्त बन्दीगृह सुविधासम्पन्न रहेको छ । दुई तलाको उक्त भवनमा पुस्तकालय, भान्छाघर, डाइनिङहल, सोलारको व्यवस्था, एक गोलघर, चिसोतातो पानीले नुहाउने व्यवस्था, तीन सुरक्षाचौकीलगायका व्यवस्था रहेका छन् । भवन आउँदो माघ १ गतेबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको सूचना अधिकारीले जानकारी दिनुभयो । सम्झौताअनुरुपको बजेट व्यवस्थापन हुन नसक्दा भवन निर्माणकार्य सम्पन्न भए पनि हस्तान्तरणमा ढिलाइ भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) गोरखाकी डिभिजन इञ्जिनीयर सुनिता श्रेष्ठले जानकारी दिनुभयो ।
निर्माण व्यवसायीलाई एक हप्ताभित्र भुक्तानी गर्ने भनिए पनि विभागबाट बजेट आउन ढिलाइ भएका कारण समस्या भएको उहाँले बताउनुभयो । कैदीबन्दी हिडेर अस्पताल जान बाध्य कारागारमा स्वास्थ्य दरबन्दी रिक्त हुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत अहेब सक्षम घिमिरेको समायोजना भई म्याग्दे गाउँपालिका सरुवा भएपछि असोजदेखि कैदीबन्दीको उपचारमा समस्या भएको हो । स्वास्थ्य दरबन्दी रिक्त हुँदा सामान्य बिरामीलाई पनि दमौली अस्पतालमा लैजानुपर्ने अवस्था रहेको छ ।
कारागारका सूचना अधिकारी अधिकारीउहाँले भन्नुभयो, “कार्यालयमा गाडीको सुविधा नहुँदा कैदीबन्दीलाई हिँडाएर हत्कडी लगाएर सुरक्षाकर्मीको साथमा पठाउनुपरेको छ ।” क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी रहेकाले (प्यासेज) गल्ली–गल्लीमा कैदीबन्दीलाई सुताउनुपरेको कारागारका चौकीदार बिष्णुहरि घिमिरेले बताउनुभयो । निर्माण सम्पन्न बन्दीगृह छिटो हस्तान्तरण भए कैदीबन्दीलाई सुत्न सहज हुने थियो । उहाँले भन्नुभयो, “चिसो मौसममा उनीहरुले कठिनाइ भोग्नुपरेको छ ।”
सीपमूलक तालीमको अपेक्षा जिल्ला कारागारमा १४८ कैदीबन्दीमध्ये करीब ७०÷७५ ले मेहेनतका साथ मुढा बुन्नेलगायतका काम गरी राम्रो आम्दानी गर्दै आएका छन् । मुढा बुनेर मासिक रु सात÷आठ हजारसम्म घर खर्च पठाउने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य तालीमको व्यवस्था भइदिए अझ राम्रो कमाइ गर्न सकिने थियो ।” चाडपर्वको समयमा पनि सोचेअनुरुपको मुढा बिक्री नभएको उहाँले गुनासो पोख्नुभयो । निर्माण गरिएका करीब २०० मुढा अझै मौजाद छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रेशम चौधरीलाई कारागार बुझाइयो
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
रवि लामिछाने भैरहवा कारागार चलान
चितवन कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी
कारागारका कैदीबन्दी आयआर्जनमा
दार्चुला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी