भीम रावलले दिए सूर्य थापालाई यस्तो जवाफ

सफल खबर संवाददाता

सोमबार, ०७ पुस २०७६, १४ : ०५
भीम रावलले दिए सूर्य थापालाई यस्तो जवाफ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले आफूलाई जिम्मेबारीबारे उपदेश दिने धृष्टता नगर्नु भनी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई जवाफ दिएका छन् ।

पार्टी स्थायी कमिटी बैठकका निर्णयबारे प्रवक्तालाई बाइपास गरेर नेता रावलले पत्रकारलाई जानकारी गराएपछि प्रेस सल्लाहकार थापाले आपत्ति प्रकट गरेका थिए । 

‘मलाई जिम्मेवारीको उपदेश दिने घृष्टता गर्ने अधिकार सूर्यजीले कहाँबाट पाउनु भयो त भन्नेबारे भने उहाँले खुलाउनु भएन। बालुवाटारमा प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएपछि उहाँले पार्टी अध्यक्ष भएझैँ गरी आदेशरनिर्देश गर्ने अधिकार र हैसियत प्राप्त भएको भ्रम परेछ क्या रे। पार्टी विधानले पार्टीका निर्णित विषयहरुबारे प्रवक्ता वा प्रचार विभागका प्रमुख वा उपप्रमुखले मात्र बोल्न पाउने भनी कतै लेखेको छ किरु’ नेता रावलको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव गोविन्द दुवालले फेसबुकमा लेखेका छन् ।

‘अछाममा एउटा प्रसिद्ध उखान छ, ‘ताल खुसेको थापाउदिन पटुका गड्याउदि’ अर्थात् लुगा तल झरिसक्यो, कम्मरमा पटुका कसेर के गर्ने ? सूर्य थापाले मलाई सुदूरपश्चिमको इञ्चार्ज भएकोले संचार माध्यममा नबोल्न उपदेश दिनुभएको रहेछ । आफू प्रचार विभागको उपप्रमुख भएकोले अबदेखि अरुले संचार माध्यममा बोल्न नहुने आदेश जारी गर्नुभएको रहेछ । पार्टी विधानमा स्थायी कमिटीको बैठक तीन महिनामा र केन्द्रीय कमिटीको बैठक ६ महिनामा बस्नुपर्ने किटानी व्यवस्थाको किन पालना भएन भनी पार्टीका कुनै नेताले भन्नुभयो भने सूर्य थापाजी ती नेताको मुखमा पनि पट्टी बाँध्न जमजामाउनु हुने हो कि ? म सुदूरपश्चिम प्रदेशको मात्र इञ्चार्ज भएको र राष्ट्रिय महत्वका विषयमा बोल्न नपाउने वा बोल्न नहुने हैसियतको व्यक्ति भएको भन्ने सूर्य थापाजी भ्रममा हुनुहुन्छ भने त्यस्तो भ्रमबाट मुक्त हुनु स्वास्थ्यको लागि लाभप्रद होला । कुनै क्षेत्र वा कमिटीको काममा अरुले हस्तक्षेप गर्ने भन्ने कुरा र पार्टीका निर्णित वा वहसका विषयमा भन्न बोल्न पाउने कुराको भिन्नता सहजै बुझिने कुरा हो । साथै यो व्यवस्था कसैले देश, जनता र पार्टीको बारेमा बोल्न नपाउने, सुगाजस्तो रटेरटाएको कुरा तोकिएको आज्ञाकारीले रामराम भने जस्तो मात्र गर्न पाउने व्यवस्था होइन र नेपाली जनताको बलिदान कुनै निरंकुशताका लागि होइन भन्ने कुरासमेत सबै सचेत नेपालीले जाने बुझेकै विषय हो,’ भीम रावलको भनाइ उद्धृत गर्दै दुवालले सामाजिक सञ्जालमा लेखेका छन् ।