वडा अध्यक्ष खडकासहित ९ जना ५ लाख ७५ हजार धरौटीमा रिहा

सफल खबर संवाददाता

शनिबार, ०५ पुस २०७६, १२ : १०
वडा अध्यक्ष खडकासहित ९ जना ५ लाख ७५ हजार धरौटीमा रिहा

बझाङ । ज्यान मार्ने उद्योगमा मुद्घा खेपीरहेका वडा अध्यक्षसहित ९ जना धरौटीमा रिहा भएका छन । जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तिलक खडकासहित ९ जना शुक्रबार ५ लाख ७५ हजार रुपियाँमा जिल्ला अदालत बझाङबाट धरौटीमा रिहा भएका हुन ।

खडका लगायत ९ जनाको समुहले सोही वडा घर भएका ७६ बर्षिय बृद्घ डबल बहादुर खडका र निर्मला खडकालाई कुटपिट गरी सक्त घाइते बनाएको भन्दै बृद्घ डबल बहादुर खडकाका छोरा त्रिभुवन खडकाले कार्तिक ६ गते ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बझाङमा मुद्घा गराएका थिए ।

मुद्घा परेपछि खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ अध्यक्ष तिलक खडका, ओमजंग खडका,बसन्त खडका,जंग खडका,एकेन्द्र खडका,सन्तोष खडका, भरत थापा,दिपक खडका, किरण खडका गरी ९ जना मंसिर ११ गते जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका डियसपी गणेश बमले जानकारी दिए । आरोपी प्रहरी सम्पर्कमा आएपछि २३ दिनसम्म अनुसन्धान गरी जिल्ला अदालत पठाएको उनको भनाइ छ ।

कुटपिटबाट बुबाको दुवै खुट्टा भाँचिएका छन घाइतेका छोरा तिलक खडकाले भने खुट्टा टेक्ने अवस्था नभएपछि लामो समयदेखि देखि काठमाडौको विएण्डबी अस्पताल मा उपचार भइरहेको छ । 

जिल्ला अदालत बझाङले धरौटीमा रिहा गरेपश्चात वडा अध्यक्ष तिलक खडकाले शनिबार चैनपुरमा पत्रकार सम्मेलन गरी आफु र आफुसँग आरोप लागेका सम्पुर्ण व्यक्तिहरु निर्दोष भएको जानकारी दिएका छन । पत्रकारमा सम्मेलनमा उनले घाइते डबल बहादुर खडका मदिरा सेवन गरी लडेको र आफुहरुलाई परिबन्धमा फसाइएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस