राष्ट्रिय सभा चुनाव

काँग्रेसले यसरी गुमाउने भयो राष्ट्रिय सभाको सातैं सिट

नेकपालाई फाइदै–फाइदा, काँग्रेसलाई घाटा

सफल खबर संवाददाता

विहीबार, ०३ पुस २०७६, ०९ : ५५
काँग्रेसले यसरी गुमाउने भयो राष्ट्रिय सभाको सातैं सिट

काठमाडौं । २०७४ को चुनाव आसपास हुनुपर्छ, काँग्रेस उपसभापति विमलेन्द्र निधिले भनेका थिए–‘नेपाललाई एमालेमुक्त बनाइने हो ।’ हुन त अहिले नेपालमा एमाले नामको पार्टी छैन् । यो पार्टीले माओवादी केन्द्रसँगको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । तर निधीले कम्युनिष्ट मुक्त नेपाललाई बनाउन खोजेपनि अन्ततः उनकै पार्टी निर्वाचित जनप्रतिनिधी रहने स्थानमा मुक्त पो हुने हो की भन्ने संकेत राजनीतिले देखाउन थालेको छ ।

प्रसंग हो – राष्ट्रिय सभा चुनावमा भएको नेकपा र राजपाबीचको चुनावी तालमेलको । यो तालमेलले मधेसमा काँग्रेसलाई राष्ट्रिय सभामा शून्य अवस्थामा पु¥याउने निश्चित जस्तै बनाएको छ । राष्ट्रियसभामा ९ माघमा १९ पदका लागि चुनाव हुदंैछ । काँग्रेसका ७ सांसद सहित १९ सिटका लागि उक्त दिन चुनाव हुन लागेको हो । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।

आयोगले कार्यतालिका सार्वजनिक गरेकै दिन सत्तासिन नेकपा र राजपाबीच प्रदेश २ मा हुन लागेको ४ सिटको चुनावमा चुनावी तालमेल भएको छ । २–२ सिट लिनेदिने गरी प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई पार्टीका बीचमा सहकार्यको सम्बन्ध गाँसिएको छ । १९ सिटमध्ये काँग्रेसका ७, नेकपाका ८, राजपाका २, समाजवादीका १ र राष्ट्रपतिवाट मनोनित (अर्थमन्त्री युवराज खतिवडाका स्थानमा) १ मा नयाँ सांसद आउन चुनाव हुन लागेको हो ।

राष्ट्रियसभाको निर्वाचन प्रणाली एकल संक्रमणीय हो । यसपटक प्रत्येक प्रदेश (क्लस्टर) बाट एकएक जना निर्वाचित हुनेछन् । प्रदेश २ बाहेक ६ वटैमा प्रदेशसभा र स्थानीय तहमा सत्तासीन नेकपाको बहुमत छ । प्रदेश २ बाट निर्वाचित हुने उम्मेदवारका हकमा भने दलगत गठबन्धनले फरक पार्नेछ । सो प्रदेशबाट राष्ट्रियसभाका चार सांसदको पद रिक्त हुँदै छ । एक महिला, एक दलित, एक खुला र एक जना अल्पसंख्यक वा अपांगता भएका व्यक्ति गरी चारवटै क्लस्टरबाट त्यहाँ चार पद रिक्त हुन लागेको हो ।

बालुवाटारको बुधबारको सहमतिपछि अब राजपाले एक खुल्ला र एक जना अल्पसंख्यक वा अपांगता भएका ब्यक्ति गरी दुई सिटमा र नेकपाले महिला र दलित गरी २ सिटमा उम्मेदवारी दिने छ । प्रदेश २ सभाबाट निर्वाचित हुन सत्तासीन नेकपाले मधेसकेन्द्रित कुनै एक दलसँग मात्र गठबन्धन गरे पुग्ने थियो । उसले राजपासँग गठवन्धनको हात मिलाईसकेको छ । तर विपक्षी काँंग्रेसले त्यहाँ चुनाव जित्न राजपा र समाजवादी दुवै दलसँग गठबन्धन बनाउनै पर्दथ्यो ।

अब त्यहाँ काँग्रेसले चुनाव जित्ने देखिदैन् । ५९ सदस्यीय राष्ट्रियसभामा काँग्रेसका १३ सांसद छन् । सात सिट जोगाउन नसके काँग्रेस ६ सिटमा खुम्चिनुपर्ने हुन्छ । अहिलेसम्मका चुनावी लेखाजोखा हेर्दा काँग्रेसले अबको ७ सिट नै गुमाउने देखिएको छ । त्यसों हुदा काँग्रेस ६ सिटमा खुम्चने देखिदैछ । सात सय ५३ स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् ।

स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतभार भने फरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मतभार ४८ निर्धारण गरिएको छ । दुवै तहको मतभार जोड्दा ५३ हजार ५ सय ८ हुन्छ । राष्ट्रिय सभा कहिल्यै खाली नहुने नीति अनुसार यो कार्यकालमा रहेकाहरुको दुई वर्षे, ४ वर्षे र ६ वर्षे कार्यकाल गोलाप्रथावाट कायम गरिएको थियो । चुनावले नेकपालाई फाइदा र काँग्रेसलाई चोट पुग्ने देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस