सत्तारुढ दल नेकपा र राजपाबीच दुई बुँदे सहमति, राष्ट्रियसभा चुनावमा तालमेल, समाजवादी पार्टी अब कता ?

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०७६, २१ : ४२
सत्तारुढ दल नेकपा र राजपाबीच दुई बुँदे सहमति, राष्ट्रियसभा चुनावमा तालमेल,  समाजवादी पार्टी अब कता ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने गरि दुई बुँदे सहमती गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा  प्रदेश २ मा माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा भागबन्डा गरेका छन्। जस अनुसार नेकपाले दुई र राजपाले दुई जना पाउने गरि सहमति गरेका छन्।

पुरुष समूह, अपांगता भएका व्यक्ति, अल्पसंख्यकबाट राजपाले उम्मेदवारी दिने र उनीहरुलाई नेकपाले सहयोग गर्ने सहमतिपत्रमा उल्लेख छ।  नेकपाले  भने  महिला र दलित पुरुष लिनेछ । यो सहमतिसँगै दुबैको जित पक्काजस्तै बनेको छ । राष्ट्रियसभामा प्रदेश २ का ८ मध्ये चार सिट २० फागुनबाट खाली हुँदैछ । उक्त पदमा ९ माघमा निर्वाचन हुनेछ ।

खाली हुने चारमध्ये दुुई दुई सिट लिने सहमति भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।  यसले नेकपालाई एक सिट लाभ हुनेछ ।  अहिले खाली हुन लागेको चारमध्ये एक सिट मात्र उसको थियो । दुई राजपा र एक सिटमा कांग्रेसका उम्मेदवार निर्वा्चित भएका थिए । राजपाले दुई सिट जोगाउँदा कांग्रेसले गुमाएको छ । नेकपा र राजपाले राष्ट्रिय राजनीतिको विषयमा पनि नियमित छलफल गर्ने र सहकार्यलाई अघि बढाउने निर्णय गरेको छ। 

सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् । यो सहमतीसँगै सत्तारुढ दल नेकपाले राष्ट्रिय सभाको चुनाव र राष्ट्रिय मुद्दामा सहकार्यका लागि मधेसवादी दल राजपासँग हात मिलाएपछि समाजवादीमाथि सरकारबाट बाहिरने नैतिक दबाब बढेको हो ।

सरकारमा समाजवादी पार्टी र चुनाव तथा राष्ट्रिय मुद्दामा राजपासँग सहकार्यको नीति लिएर नेकपाले अनौठो राजनीतिक प्रयोग गरेको छ । जबकी प्रदेश–२ मा राजपा र समाजवादी पार्टी मिलेर सरकार चलाएका छन् । स्रोतका अनुसार समाजवादी पार्टी र राजपाबीच पार्टी एकताका लागि चरण–चरणमा वार्ता भइरहेका बेला नेकपा र राजपाबीचको सहकार्य अर्थपूर्ण छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेकपा र राजपाबीचको सहमतिले समाजवादी पार्टी सरकारबाट बाहिरिने र राजपा सरकारमा सहभागी हुने संकेत गरेका छन् ।

यता नेकपा–राजपाबीचको सहमतिलाई लिएर समाजवादी पार्टीले उपयुक्त निर्णय लिने प्रारम्भिक प्रतिक्रिया दिएको छ। ‘हामीले राजपासँग पहिला पनि गठबन्धन गरेका थियौँ। अहिले किन राजपा नेकपातिर गयो। हामी गहन छलफल गर्छौँ। ’समाजवादी पार्टीकी नेतृ रेणु यादवले भनिन, ‘भर्खर उहाँहरु (नेकपा–राजपा) बीचको सहमतिको विज्ञप्ती आएको छ। पार्टी्भित्र छलफल गरेर हामी उचित निर्णय लिन्छौँ।’

मन्त्रिपरिषद् हेरफेरमा प्रधानमन्त्रीले छलफल नगरेको भन्दै असन्तुष्ट समाजवादी पार्टीले संविधान संशोधन लगायतका विषयमा नेकपासँग छलफल गर्न उच्चस्तरीय वार्ता टोली बनाएकै बेला नेकपाले राजपासँग सहकार्यको नीति लिएको हो। राजपाले तत्कालका लागि राष्ट्रियसभाको चुनाव भए पनि नेकपासँग सहकार्यको बाटो फेरि खुला भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस