तरकारी र फलफुलमा बिषादी परीक्षण सुरु

प्रकाश सिग्देल

मंगलबार, ०१ पुस २०७६, १७ : ००
तरकारी र फलफुलमा बिषादी परीक्षण सुरु

चितवन । तरकारी र फलफुलमा कति मात्रामा बिषादी छ भन्ने परीक्षण चितवनमा सुरु गरिएको छ । तीन नम्बर प्रदेश सरकार, भरतपुर महानगर, कृषि ज्ञान केन्द्र र महानगर फलफुल तथा तरकारी बजारको संयुक्त पहलमा बिषादी मापन प्रयोगशाला सञ्चालनमा ल्याई परीक्षण सुरु गरिएको हो । 

बिषादी अवशेष द्रुत बिश्लेषण प्रयोगशाला नाम दिइएको यस प्रयोगशालाको मंंगलबार प्रदेश सरकारका कृषि भुमि तथा सहकारी ब्यवस्था मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्नु भएको हो । उहाँले लौकामा बिषादीको मात्रा परीक्षण गरी प्रयोगशालाको उद्घाटन गर्नु भयो । लौकामा खानयोग्य परिमाणमा बिषादीको मात्रा भेटिएको थियो ।

मन्त्री लामाले अब अर्गानिक उत्पादनको विकल्प नभएको बताउनु भयो । उहाँले अब पुर्णतया अर्गानिक अर्थात बिषादी र रासायनिक मल नहालीकन गाईभैँसीको मल र मुत्र हालेर अर्गानिक उत्पादन गर्नु पर्नेमा जोड दिनु भयो । 

बिषादीका कारण मानिसमा प्राणघातक रोगहरु लागेकाले बिषादी न्युनीकरणका लागि प्रदेश सरकारले बिशेष ध्यान दिएको र प्रदेशका ५ ठाउँमा बिषादी मापन केन्द्र स्थापना गर्न लागेको उहाँले बताउनु भयो । प्रदेश सरकारले पशुपालनलाई जोड दिएको र पशुबाट उत्पादित मलको प्रयोग गरी तरकारी फलफुल उत्पादन गर्नु पर्ने उहाँको भनाई छ । 

उहाँले यो प्रयोगशाला दिउँसोभन्दा पनि राति प्रयोगमा ल्याउनु पर्ने र त्यसका लागि चाहिने जनशंक्तिका लागि प्रदेश सरकारले आवश्यक सहकार्य गर्ने बताउनु भयो । 

प्रदेश कृषि सचिव योगेन्द्र कार्कीले यो प्रयोगशाला प्रभावकारी ढंगबाट सञ्चालन गर्नु पर्ने बताउनु भयो । प्रदेश सरकार अर्गानिक र बिषादीरहित खाद्ययबस्तु उत्पादनमा केन्द्रित भएको बताउँदै उहाँले प्रयोगशाला बन्द भयो भनेर आफुले सुन्न नपरोस् भनी प्रयोगशालाको प्रभावकारिताको कामना गर्नु भयो ।

कार्यक्रममा प्रदेश सांसदहरु लगायत कृषि उद्यमीहरुको सहभागिता रहेको थियो । प्रयोगशालामा बजारमा आएका तरकारी र फलफुल दैनिक फरक फरक स्याम्पल लिई परीक्षण गर्ने गरिएको र अहिलेसम्म बढी बिषादीको मात्रा भएको तरकारी फलफुल फेला नपरेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताउनु भयो । 

एक वटा स्याम्पल परीक्षणका लागि आधा घण्टा लाग्ने उहाँले बताउनु भयो । परीक्षणका बेला खान अयोग्य देखिएमा बिक्रीमा प्रतिबन्ध लगाइने उहाँको भनाई छ । प्रदेश सरकारको उपकरण, कृषि प्रवद्र्धन बजार बिकास प्रालिको स्थान भरतपुर महानगरपालिका र कृषि ज्ञान केन्द्रले केमिकल र कर्मचारीको ब्यवस्थापन गर्ने गरी यो प्रयोगशाला सञ्चालनमा आएको हो ।

प्रयोगशालामा किसानले ल्याएका फलफुल र तरकारीको बिषादीको परीक्षण गर्ने गरिएको र किसानलाई पनि फलफुल र तरकारीमा बिषादीको प्रयोग नगर्न आफुहरुले बारम्बार आग्रह गरिरहेको तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले बताउनु भयो । उहाँका अनुसार तरकारी बजारमा दैनिक १ सय ५० टनभन्दा बढी तरकारी र ५० टनको हाराहारीमा फलफुल आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस