आफैंले तयार गरेको चितामा आफै जल्नुपर्दा

पत्रपत्रिकाबाट

मंगलबार, ०१ पुस २०७६, ०७ : ५०
आफैंले तयार गरेको चितामा आफै जल्नुपर्दा

काठमाडौं । सोमबार दिउँसो चावहिल चलचित्र विकास बोर्डको प्रांगणमा एकातर्फ बोर्ड अध्यक्ष एवं वरिष्ठ अभिनेता केशव भट्टराईको पार्थिव शरीर थियो । अर्कोतर्फ वरिष्ठ अभिनेता दीपक क्षत्रीको पार्थिक शरीर थियो । जहाँ सिनेकर्मीदेखि शुभेच्छुकसम्म यी दुई अभिनेताको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइरहेका थिए ।

वरिष्ठ अभिनेता केशव भट्टराईले अभिनेता दीपक क्षत्रीको श्रद्धाञ्जली सभा बोर्डको प्रांगणमा गर्ने निर्णय आइतबार मात्र गरेका थिए । ‘दीपक दाइको पूर्ण सम्मानसाथ आर्यघाटको एक नम्बर चिता सजाएर अन्त्येष्टि गरिनुपर्छ’ भन्दै बोर्ड अध्यक्ष भट्टराईले आइतबार दिउँसो मात्र बजेट पास गरेका थिए । चिता बनाउनेदेखि सम्पूर्ण तयारीका लागि उनले जिम्मा दिएका थिए ।

दीपक क्षत्रीका लागि उनले तय गरेको स्थानमा सोमबार भट्टराईकै श्रद्धाञ्जली सभा आयोजना गरियो । अर्को दुःखद संयोग के भने दीपक क्षत्रीका लागि भनेर सजाइएको आर्यघाटको १ नम्बरको चितामा सोमबार बेलुका भट्टराईकै पार्थिव शरीर जलाइयो । अभिनेता क्षत्रीको पनि भट्टराईसँगै २ नम्बर चितामा राष्ट्रिय सम्मानसाथ दाहसंस्कार गरियो ।राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस